कतार पुलिसमा नेपाली नागरिकलाई लैजान कतारी नागरिक अन्तर्वार्ता लिन आएको विषयमा नेपालस्थित कतार राजदूतावासको संलग्नता नरहेको जनाएको छ।
तर दूतावासले साे छनाेट प्रकरणमा कतार पुलिसमा भर्ति गराउने प्रक्रियामा आएका व्यक्तिहरुलाई सवारी साधन भने उपलब्ध गराएको जनाएको छ।
‘नेपालवाट कतार पुलिसमा भर्ति गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलिलाई राज्यको जिम्मेवार निकाय राजदुतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो,’ ललितपुरको भैसेपाटीमा रहेको सो दूतावासले जनाएको छ, ‘कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता छैन।’
कतार पुलिसमा रोजगारीका लागि भन्दै एक म्यानपावर कम्पनीले अबैधानिकरुपमा अन्तर्वार्ता लिइरहेको भनी मंगलबार वैदेशिक रोजगार विभागले छापा मारेको थियो।
लाजिम्पाटमा रहेको होप इन्टरनेशनल म्यानपावर कम्पनीले कतार पुलिसमा रोजगारीमा पठाउने भन्दै युवाहरुसँग अन्तर्वार्ता लिइरहेको जानकारी आएपछि छापा मारिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
वैदेशिक रोजगारीमा पठाउनु पहिले वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिनुपर्छ। तर उक्त म्यानपावर कम्पनीले भने स्वीकृति लिएको छैन।
विभागले छापा मार्ने क्रममा त्यहाँ कतारस्थित आन्तरिक मन्त्रालयका चार जना कर्मचारी समेत त्यहाँ रहेको पाइएको जनाएको थियो। त्यसैगरी अन्तर्वार्तास्थलमा नेपालस्थित कतार दूतावासको गाडी समेत फेला परेको थियो।
याे पनि:
कतार पुलिसमा रोजगारी दिने भनी विना स्वीकृति अन्तर्वार्ता लिएको ठाउँमा विभागको छापा

प्रतिक्रिया