ad ad

समाज


बडीमालिका नगर क्षेत्रका सबै विद्यालयमा पढाइ सुरु  

बडीमालिका नगर क्षेत्रका सबै विद्यालयमा पढाइ सुरु   

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ४:१०,

बाजुराको बडीमालिका नगरपालिकाका सबै विद्यालय आज (आइतबार) देखि पढाइ शुरु भएको छ।

कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन्।

नगरपालिकाको शिक्षा समिति तथा विद्यालय व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेसँगै सबै सरकारी तथा निजी विद्यालय खुलेको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले जानकारी दिए।

‘आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको छ, कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्ने र सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर आइतबारदेखि पढाइ शुरु गरेका छौँ,’ प्रधानाध्यापक पाध्यायले भने, ‘नगर शिक्षा समितिको बैठकले मङ्सिर ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको भए पनि ११ कक्षाको परीक्षाका कारण आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सञ्चालनमा ल्याइएको हो।’

कोरोनाको जोखिम कायमै रहेको भए पनि लामो समयपछि विद्यालयमा आफ्ना विद्यार्थी भेट्न पाउँदा विद्यार्थी र शिक्षक हर्षित भएको प्रधानाध्यापक पाध्यायले बताए।

 माध्यमिक र क्याम्पस तहका कक्षा खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखाका प्रमुख रामबहादुर कटुवालले जानकारी दिए। शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाई बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिइएको हो।

विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन हुन लागेको चोयाकोट माविका शिक्षक श्याम रावलले बताए। ‘कोरोना जोखिमबाट बच्न हामीले विद्यालयमा गर्ने सम्पूर्ण सुरक्षा प्रविधि अपनाउने छौँ, घरमा पनि अभिभावकले सुरक्षा अपनाउन जरुरी भएको छ,’ उनले भने।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका र बीचमा सिफ्टमा सञ्चालन गरिएको भए पनि प्रभावकारीरूपमा पढाइ नभएकाले विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न पत्राचार गरी विद्यालय सञ्चालन गरिएको बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले बताए।

विद्यालय सञ्चालन गर्ने निर्णयसँगै नगरपलिकाभित्र रहेका सामुदायिक र निजी गरी २८ माध्यमिक विद्यालय तथा एक क्याम्पस सञ्चालनमा आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .