नेवारी समुदायले यस वर्ष आत्म (म्ह) पूजा आज र भोलि दुई दिन मनाउने भएका छन्। तिथि घटवढका कारण नेवारी समुदायबीच म्ह पूजा कहिले गर्ने विषयमा विवाद सिर्जना भएको हो।
कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हपूजा गर्ने परंपरा छ। कतिपयले आज बेलुकी आत्म (म्ह) पूजा गर्दैछन्। कतिपयले भने आज नभएर भोली मात्रै म्हपूजा गर्ने तयारी गरेका छन्।
नेपाल संवतकै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन्। म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवतसँग यसलार्य जोड्नु नहुने नेपाल पञ्चांग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले बताए।
धर्मशास्त्र र ज्योतिष विषय नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको तर्क छ।
तर, कतिपय नेवारी समुदायका व्यक्तिहरुले सोमबार मात्रै म्हपूजा गर्न उपयुक्त हुने तर्क गरेका छन्। आइतबार बिहान ११ः २७ बजेसम्म औँसी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा आजै गर्नुपर्ने जोशीले बताए।
आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार नेवारी समुदायमा म्ह पूजा गर्ने परम्परा बसेको विश्वास छ।
प्रतिक्रिया