समाज


पाहुना लागेका व्यक्तिले चुरोट चोरेपछि झगडा, युवकको मृत्यु

पाहुना लागेका व्यक्तिले चुरोट चोरेपछि झगडा, युवकको मृत्यु

वाशुदेव मिश्र
कात्तिक २६, २०७७ बुधबार ११:४२,

चुरोट चोरेको निहुँमा भएको झगडाका कारण पोखरामा एक युवाले ज्यान गुमाएका छन्।

घटनामा मृत्यु हुनेमा दाङको घोराही नगरपालिका घर भएका २५ वर्षीय कृष्ण चौधरी रहेका छन्। उनको हत्या अभियोगमा प्रहरीले सिन्धुली सुनकोशी गाउँपालीका–१ कुशेश्वर दुम्जा घर भई हाल पोखरा बस्दै आएका २३ वर्षीय नन्दलाल श्रेष्ठलाई पक्राउ गरेको छ।

श्रेष्ठले यही कार्तिक २२ गते दुईजनाबीच भएको झगडाको क्रममा चौधरी घाइते भएको स्वीकारेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार हत्या आरोपी नन्दलाल श्रेष्ठ असोजको पहिलो साता सिन्धुलीबाट पोखरा आएका थिए। रिक्सासहित आएका २३ वर्षीय श्रेष्ठ पोखराको पृथ्वीचोकसहित लेकसाइड, बसुन्धरापाक लगायतको स्थानमा कवाडी संकलन गर्थे।

काम गर्दै जाँदा कार्तिक २२ गते करिब दिउँसोको ४ बजेको समयमा उनीसँग पोखरा–६ बसुन्धरापार्कमा बस्दै आएका कृष्ण चौधरी भेटिए। चौधरी पत्नीसहित पोखराको बैदाममै बस्थे। चौधरी र श्रेष्ठ मिलेर सौफी नामक रक्सी खाए। रक्सी लागेपछि चौधरीले आफ्नी श्रीमतीले खाना बनाएको र खाना खान जाऊँ भनेर श्रेष्ठसँग प्रस्ताव राखे। बस्ने खाने ठेगान नभएका श्रेष्ठ पनि चौधरीसँग बसुन्धरापार्कको प्रतीक्षालयमा खाना खान गए।

खाना खाएपछि चौधरीकी श्रीमतीले चुरोट हरायो भनिन्। चौधरीले श्रेष्ठलाई चुरोट किन चोरेको भन्दै पेटमा समात्न पुगे। श्रेष्ठले चौधरीलाई धकेले। चुलोको ढुङ्गा टिपेर जाइलाग्न लागेका चौधरीको श्रेष्ठको हातबाट श्रेष्ठले ढुंगा खोसे। रिसको झोकमा श्रेष्ठले पाहुना बोलाएका चौधरीको टाउकोमा ३ पटक प्रहार गरे। टाउकोमा चोट लागि घाइते भएका चौधरीको वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उद्धार गरेर अस्पताल पु-यायो। तर, अस्पतालमा उनको मृत्यु भयो।

प्रहरीले घटनापश्चात श्रेष्ठको खोजतलास सुरु ग-यो। घटना घटेको ३ दिनपछि कास्की प्रहरीले श्रेष्ठलाई रिक्सामा काठमाडौंतर्फ जाँदै गर्दा तनहुँ आवुखैरेनीबाट पक्राउ गरेको छ। श्रेष्ठलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरि थप अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

‘घटनामा प्रयोग भएको ढुङ्गामा रगतजस्तो रातो पदार्थ लागेको टिसर्ट र घटना स्थलबाट रगत जस्तो बगेको पदार्थ समेत लिएर आएका छौँ। हुलियासहित खोजतलास गरेका थियौैँ’, प्रवक्ता हमालले भने,‘ उनले भने–चुरोट चोरेको निहुँमा हत्या भएको खुल्न आएको छ। थप अनुसन्धान प्रक्रियामा छौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .