समाज


साउन यता चितवनमा १६५ जनामा देखियो स्क्रब टाइफस

साउन यता चितवनमा १६५ जनामा देखियो स्क्रब टाइफस

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ६:४६,

चितवनमा जिल्लामा साउन यता १६५ जनामा स्क्रब टाइफस देखापरेको छ। यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको छ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन्। अन्य बाहिरी जिल्लाका बिरामी यहाँका अस्पतालमा उपचार गराउने क्रममा रोग देखापरेको हो।

कार्यालयका अनुसार डेङ्गु सङ्क्रमित बिरामी भरतपुर महानगरपालिकाका १५, खैरहनी नगरपालिकाका तीन, माडी नगरपालिकाका एक, रत्ननगर नगरपालिकाका पाँच, राप्ती नगरपालिकाका एक र कालिका नगरपालिकाका दुई जना रहेका छन्। भरतपुर महानगरका ४२, खैरहनी नगरपालिकाका १०, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका १०, राप्ती नगरपालिकाका नौ र इच्छाकामना गाउँपालिकाका एक जनामा स्क्रबटाइफस देखिएको कार्यालयले जनाएको छ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्यका अनुसार गत वर्ष जिल्लामा चार हजार ८०४ जनामा डेङ्गु भएको थियो। जसमध्ये दुई जनाको मृत्यु भएको थियो । त्यसै गरी स्क्रबटाइफस १३९ जनामा भएकोमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष स्क्रबटाइफस वढेको छ भने डेङ्गु घटेको छ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो। यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने गर्दछ।

यस्तै मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने ब्याक्टेरियाको कारणले स्क्रबटाइफस हुने भरतपुर अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरिले जानकारी दिए। यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ। किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ। यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डिस हुने र पेट दुख्ने अग्रहरिले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad