ad ad

समाज


सीएमसीका विद्यार्थीले बनाए आठ वटा मेडिकल एप, अमेरिका र भारतमा बढी प्रयोग

सीएमसीका विद्यार्थीले बनाए आठ वटा मेडिकल एप, अमेरिका र भारतमा बढी प्रयोग

सन्तोष न्यौपाने
कात्तिक १६, २०७७ आइतबार १४:५,

सन्तोष रिजाललाई सानैदेखि प्रविधिमा रुचि थियो। तर, भित्री मनले भने डाक्टर बन्न उक्साउँथ्यो। उनले मनको कुरा सुने र डाक्टरी पढ्न थाले।

चितवन, भरतपुरका सन्तोष चितवन मेडिकल कलेज (सीएमसी) मा एमबीबीएस पढ्न भर्ना भए। तर, प्रविधिप्रतिको रुचिलाई ‘ब्रेक’ लगाउन भने सकेनन्। त्यसैले २२ वर्षे सन्तोषले कलेज सुरु भएदेखि नै स्वअध्ययनका रुपमा प्रविधिसम्बन्धी अध्ययन पनि गरिरहेका थिए।

एमबीबीएस, चौथो वर्ष पढ्दै गर्दा उनले मेडिसिन र प्रविधिलाई जोड्ने काम गरेका छन्। सन्तोष र उनका सहपाठी अंकित श्रेष्ठ, आईटीका विद्यार्थी क्षितिज ढकाल र अर्थशास्त्रका विद्यार्थी अर्जुन भण्डारी मिलेर चिकित्सासम्बन्धी आठ वटा एप बनाइसकेका छन्। जसको प्रयोग विदेशमा समेत भइरहेको छ।

आठमध्ये चारवटा एप सार्वजनिक भइसकेका छन् भने चार परीक्षणको चरणमा छन्। एक वर्षको अवधिमा नेपालसहित विभिन्न मुलुकका १ लाख ८५ हजारभन्दा धेरै मेडिकल विद्यार्थी र डाक्टरले यी एप प्रयोग गरिरहेको सन्तोष बताउँछन्।

चिकित्साशास्त्रका विषयवस्तुहरु डिजिटाइज हुन नसकेकाले आफूहरुले यो प्रयास गरिरहेको उनले बताए।

‘मेडिकल अध्ययनलाई हामीले प्रविधिसँग जोडेर सहज बनाउन सकेका छैनौं,’ सन्तोषले भने, ‘सानो विषय पढ्न होस् या प्रयोगात्मक अभ्यासमा पनि किताबमै भर पर्नु पर्ने समस्या छ। यसैको समाधानका लागि मेडिकल विषयलाई डिजिटाइज गर्ने उद्देश्य राखेका छौं।’

डिजिटाइजेसनकै कारण इन्जिनियरिङ पढ्न सजिलो भएको उनले बताए।

‘नेपालमा मेडिकल विषय पढ्न विद्यार्थीहरु परम्परागत कागजी पृष्ठमै निर्भर छन्,’ उनले भने, ‘हिस्टोलोजीको ड्रइङहरु मोबाइलमा कोचेर राख्नु पर्ने, बिरामीको हिस्ट्री रेकर्ड राख्न गाह्रो, ईसीजीका रेखा बुझ्न प्रलय हुने। यस्तै खालका विभिन्न समस्यालाई समाधान गर्दै हामीले आठ एप बनाएका छौं। डिजिटाइज गरेर सजिलो तरिकाबाट बुझ्न सकिने बनाएका छौं।’

यस किसिमको काम नेपालमा अहिलेसम्म हुन नसकेको उनको भनाइ छ। एप निर्माणसँगै उनीहरुले मेडिकस डटकम डट एनपी वेबसाइट पनि सुरु गरेका छन्।

एक वर्षअघि उनीहरुले पहिलो एप बनाए, मेडिकस पीडीएफ। यसमा मेडिकल विद्यार्थीहरुले आफ्ना पीडीएफ सामाग्री अपलोड गर्न र सेयर गर्न सक्छन्।

वर्ष दिनको अवधिमा यो एपको प्रयोग उनले सोचेभन्दा धेरै भयो। सुरुमा उनलाई लागेको थियो कम्तीमा उनका कलेजका विद्यार्थीहरुले प्रयोग गर्ने छन्।

‘तर, यो सुरु भएपछि थाहा भयो हामीलाई जस्तै विदेशमा विद्यार्थीहरुलाई डिजिटल कन्टेन्टको अभाव रहेछ,’ सन्तोष भन्छन्।

पहिलो पटक बनाएको यस एपका कारण प्राप्त प्रतिक्रियाबाट उनको टिम उत्साहित भयो। त्यसले उनीहरुले अन्य विषयगत एप बनाउने निर्णय गरे।

‘विषयगत रुपमा छुट्टाछुट्टै एप बनाउँदा धेरै इम्प्याक्ट पर्न सक्छ भन्ने लाग्यो,’ सन्तोष भन्छन्, ‘एउटै एपमा सबै विषयवस्तु राख्दा फोकस नहुनसक्छ।’

उनको टिमले दोस्रो एप बनायो मेडिकस हिस्टोलोजी। मेडिकल विद्यार्थीहरुलाई हिस्टोलोजीको ड्रइङहरु धेरै गर्नुपर्छ। जसलाई साथीहरु, अग्रजहरुसँग मागेर मोबाइलमा राख्नु पर्ने झन्झट छ।

त्यसरी जम्मा गरिएका ड्रइङहरु माइक्रोस्कोपमा हेर्दा फरक फरक देखिने समस्या हुन्छ।

यही समस्या समाधान गर्न उनीहरुले मेडिकस हिस्टोलोजी भन्ने एप बनाए। उनीहरुको उदेश्य थियो– माइक्रोस्कोपमा हेर्दा जे देखिन्छ, मोबाइलमा हेर्दा पनि ठ्याक्कै त्यही देखियोस्। यो एप एक महिनाअघि सार्वजनिक भएको थियो।

सन्तोषको टिमले बनाएको तेस्रो एप हो, मेडिकस मेडिसिन। मेडिकल विद्यार्थीले बिरामीको हिस्ट्री सोधिरहनु पर्छ। सोध्दा कति कुरा छुटेको हुन्छ। टिपोट गरिएका कुरा रेकर्डबाट हराउन पनि सक्छ।

‘बिरामीका परीक्षण गर्न र रेकर्ड राख्न विद्यार्थीलाई सजिलो होस् भनेर यो एप बनाइएको हौं,’ सन्तोष भन्छन्, ‘एप सार्वजनिक गरेको दश दिनमा दश हजार प्रयोगकर्ता भइसकेका छन्।’

तीनवटा एप गरी अहिले २ लाख प्रयोगकर्ता पुग्न लागेका छन्। २ लाख प्रयोगकर्तामध्ये नेपालका ७ प्रतिशत र बाँकी विदेशी रहेको उनले जानकारी दिए।

सबैभन्दा धेरै भारत र अमेरिकामा यी एप प्रयोग भइरहेका छन्।

उनीहरुले बनाएको चौथो एप हो, मेडिकस ईसीजी।

‘ईसीजी हेरेर धेरै जानकारी लिन सकिन्छ। तर, यसको अध्ययन गर्न भने निकै सकस छ विद्यार्थीहरुलाई,’ सन्तोषले भने, ‘बुझ्न गाह्रो हुने ईसीजी डिजिटाइज गरेर सजिलो तरिकाबाट बुझ्न सकिने बनाएका छौँ।’

यीबाहेक चारवटा एप भने परीक्षणको चरणमा छन्। मेडिकस सर्जरी, मेडिकस पेड्रियाट्रिक, मेडिकस डेन्टल म्याटेरियल, मेडिकस एभ्रिलेसन प्लेस्टोरमा राखेर यसको परीक्षण गरिरहेका छन्। यसको रिभ्यु गरिरहेकोले सार्वजनिक हुन बाँकी रहेको उनले बताए।

एप बनाउनेदेखि यसको प्रबर्द्धन गर्नेसम्मको काम चार जना साथीहरुले नै गरिरहेका छन्। जसमा चितवन मेडिकल कलेजका डाक्टरहरुले पनि सहयोग गरेका छन्।

सन्तोष आफैँ पनि एप बनाउँछन्। ‘घरमै स्वअध्ययन गरेर मैले एप बनाउन सिकेको हुँ,’ सन्तोष भन्छन्, ‘मेडिसिनलाई टेक्नोलोजीमा जोडेर केही गर्न सकिन्छ भन्ने मलाई लागिरहेको थियो।’

उनलाई एप बनाउन सहयोग गरिरहेका छन् एउटै स्कुल पढेका आईटीका विद्यार्थी क्षितिजले।

अंकित सन्तोषका कक्षा ६ देखिका साथी हुन्। अहिले पनि सँगसँगै पढ्छन्। उनलाई पनि प्रविधिमा रुचि छ। एमबीएस गरेका अजुर्नले यसको मार्केटिङ र सम्भावनाका क्षेत्रमा अध्ययन र सहयोग गरिरहेका छन्।

विद्यार्थीहरुका लागि एप धेरै उपयोगी भएपछि चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर हरिशचन्द्र न्यौपानेले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कलेजका डाक्टरहरुले पनि प्रत्यक्ष रुपमा सहयोग गरेका छन्। एपको परीक्षण, यसको विश्वसनीयता जाँच्न डा. सुष्मा खतिवडा, डा. शुभेच्छा शाक्य, डा. दीक्षान्त सिटौला, प्रोफेसर डा. समीर तिमिल्सिनालगायतले सहयोग गरेका छन्।

मेडिकस हिस्टोलोजी एपको कन्टेन्ट बनाउनमा सहयोग गरेकी डा. खतिवडाले यो एप विद्यार्थीहरुको लागि उपयोगी भएको बताइन्।

‘लकडाउनको बेलामा कलेज जान नपाएका अनलाइन कक्षा पनि लिन नसकेका लागि स्वअध्ययनको लागि राम्रो सामग्री बनेको छ,’ खतिवडाले भनिन्, ‘नयाँ विद्यार्थी र परीक्षा अगाडि पढेको रिभ्यु गर्न राम्रो कन्टेन्ट छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .