नेपालमै कोरोना महामारी सुरु भएको ७–८ महिना भइसकेको छ। यति बेलासम्म कोरोनाबाट बच्न कस्तो सुरक्षा अपनाउनुपर्छ भन्ने कुरा धेरै नेपालीले जानिसकेको हुनुपर्छ।
तर पनि संक्रमण हुने दर घट्दो छैन, बढ्दो नै छ। किन त?
यस विषयमा बिहीबार बिहान नेपालखबरले देशको प्रमुख कोभिड अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ‘रिसर्च युनिट’का संयोजक डा. शेरबहादुर पुनसँग जिज्ञासा राखेकाे छ।
यस्ताे छ उनकाे अनुभव र अनुमान :
मलाई जहाँसम्म लाग्छ, कोरोना संक्रमण सुरु भएयता कसैले ठूलो आवाजमा खोक्यो भने हामी ठूलठूला आँखाले हेर्छाैं। यसकारण हिजोआज तपाईं हाम्राअगाडि आएर कसैले पनि घ्वाङघ्वाङ खोक्दैनन्। हाच्छिउँ गर्दैनन्। मास्क पनि लगाएकै छौं। तर पनि संक्रमण बढेको बढ्यै छ!
यसमा म दुइटा कारण देख्छु– हात र विश्वास।
हात नै हाम्रो यस्तो अंग हो, जुन दैनिक धेरै ठाउँमा छुने र चलाउने गर्छाैँ।अनि त्यही हात हामी थाहा नपाईकनै, नजानिँदो ढंगले नाक, मुख, आँखामा पुर्याइरहेका हुन्छौं। यसैबाट बढी संक्रमण फैलिरहेको मेरो अनुमान छ। किनकि कुनै भित्ता, सामानमा हाम्रो अनुहार अर्थात् नाकमुख त ठाेक्किँदैन। हातैले छुने हाे।
मैले स्वास्थ्य मन्त्रालयकै अधिकारीले कतै अन्तर्वार्तामा भनेको सुनेको- अझै हामी ५० प्रतिशत नेपालीमा साबुन-पानीले राम्रोसँग हात धुने बानीको विकास भइसकेको छैन।
यसैकारण मेरो जोड केमा छ भने कतै शंकास्पद स्थानमा छोइसकेपछि साबुन-पानीले राम्रोसँग हात धुने कुरालाई प्राथमिकता दिन जरुरी छ। हातको सफाइमा विशेष सतर्कता अपनाउनुपर्छ।
एउटा राम्रो पक्षचाहिँ के हाे भने अहिले हामी नेपालीले हात मिलाउनचाहिँ छाडिसकेका छाैँ। तर हात धुने, सही किसिमले मास्क लगाउने र दूरी कायम गर्ने विषयमा हामीले सुधार गर्नुपर्ने कुरा अझै धेरै बाँकी छ।
कोरोना सर्नुको अर्काे कारण हो– विश्वास।
मलाई लाग्छ, यो भाइरस रमाइलो तरिकाले सरिरहेको होला। जस्तो : आफ्नै नजिकको मान्छे त हो नि। आफ्नै साथीभाइ त हो नि भनेर हामी सतर्कता अपनाउँदैनौं। विश्वास गरेर लापरबाही गर्छाैं। सँगै बसेर चिया खान्छौं, गफ गर्छाैं।
सँगै बसेपछि ठूलठूलो स्वरमा बोल्दै जाने क्रममा मुखको मास्क पनि तलतल सर्दै जाँदोरहेछ। अनि हाँस्नु पनि पर्याे। हो त्यही बेला, मुखबाट उछिट्टिएका छिटाले एकअर्कामा भाइरस सरिरहेको हुन सक्छ।
परिवारभित्रै पनि एउटा कोठामा हजुरबा-हजुरआमा होलान्, अर्काे कोठामा दैनिक काममा जानुपर्ने सक्रिय उमेरका। अनि ससाना बच्चा हुन्छन्, जो एउटा कोठाबाट अर्काे कोठा ओहोरदोहोर गरिरहन्छन्। जसका कारण पनि भाइरस सरिरहेकाे हुन सक्छ।
यसरी घरमा मेरा दाजुभाइ, छोराछोरी, कार्यालयमा मेरा सहकर्मी, साथी भनेर जुन विश्वास गरेर हामी सतर्कतामा ध्यान दिँदैनौं, त्यसैबाट बढी मात्रामा संक्रमण फैलिरहेको हुन सक्छ। मलाई लाग्छ, लक्षणयुक्त भन्दा पनि लक्षणविहीनबाट यस्तो विश्वासले भाइरस फैलिरहेको मेरो अनुमान छ।
यसर्थ यस्ता सामान्य कुरामा पनि ध्यान दिन जरुरी छ।
प्रतिक्रिया