समाज


कोरोना संक्रमितको उपचारका लागि प्लाज्माको माग बढ्दो

कोरोना संक्रमितको उपचारका लागि प्लाज्माको माग बढ्दो

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १०:२२,

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले संकलित कोभिड–१९ संक्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ। अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड– १९ संक्रमण भई निको भएकाबाट यहाँ संकलन भएका ७१ युनिट प्लाज्मामध्ये ११ युनिट बाहिरी जिल्ला पठाइएको छ। पौडेलका अनुसार भैरहवामा छ युनिट र काठमाडौँमा पाँच युनिट पठाइएको हो। अन्य जिल्लाबाट पनि माग हुन थालेको उनले जानकारी दिए।

हाल केन्द्रमा ए पोजेटिभ ८, ओ पोजेटिभ १९, बि पोजेटिभ १२, एबी पोजेटिभ २ युनिट जगेडा रहेको छ। चार युनिट दातामा अन्य समस्या भएपछि प्रयोग गर्न नमिल्ने भएको हो। जिल्लाका विभिन्न अस्पतालमा १५ युनिट बिरामीलाई चढाइएको केन्द्रले जनाएको छ।

नवलपरासी जिल्लाबाट ३३ युनिट, जिल्लामा शिविरमार्फत् ३२ युनिट र संस्थामा आएर छ जनाले प्लाज्मा दान गरेका हुन्। देशभरमा नै सबैभन्दा बढी चितवनमा प्लाज्मा संकलन भएको पौडेलले दाबी गरे। सामाजिक संघसंस्थाले अभियान नै सञ्चालन गरेर प्लाज्मा संकलन गरेपछि यहाँ र बाहिरसमेत पठाउन सकिएको उनको भनाइ छ।

संक्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत संकलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ। यसका लागि लक्षण देखिएका संक्रमित चाहिने पौडेलको भनाइ छ। जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका संक्रमितको उपचार हुँदै आएको छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निको भएका कोरोना संक्रमितको रगतबाट प्लाज्मा निकालेर संक्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो। यसबाट गम्भीर अवस्थाका संक्रमितको उपचार गर्न सहयोग पुग्छ।

रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो। निको भएका संक्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा संक्रमितलाई दिएर भाइरससँग लड्नसक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad