समाज


आज दसैंको टीका : कति बजे, कता फर्केर लगाउने?

आज दसैंको टीका : कति बजे, कता फर्केर लगाउने?

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ०:२५,

बडादसैंको आज (सोमबार) मुख्य दिन अर्थात् विजयादशमी। मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिएर मनाइँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार टीका लगाउन साइतै खाेज्नेका लागि बिहान १० बजेर १९ मिनेटमा उत्तम छ। तर नभ्याउनेले आज दिनभर टीका ग्रहण गर्दा शुभ नै हुन्छ। 

 देवी विसर्जनको साइत भने बिहान १० बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ। 

विजयादशमीका दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका थाप्ने मानिस पश्चिम फर्कनुपर्छ भने टीका लगाइदिने पूर्व फर्कनुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमकाे भनाइ छ।

सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरा लगाउने चलन छ। जमरालाई समृद्धिको प्रतीक मानिन्छ।

जमराले विभिन्न रोगव्याधिमा औषधिकाे कामसमेत गर्नु तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भएकाे छ।

अझ जमराकाे रस नै पिउने हाे भने याे कोरोना महामारीका बेला भाइरसँग लड्ने शरीरकाे प्रतिरोधी क्षमता बढ्ने आयुर्वेदिक चिकित्सकले बताएका छन्। 

असत्यलाई सत्य र आसुरी शक्तिलाई दैवी शक्तिले विजय प्राप्त गरेकाे दिनका रूपमा विजयादशमी मनाउने गरिएकाे हाे। 

सत्य युगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणविरुद्ध विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक मान्यता छ।

आजकै दिन मौर्य सम्राट अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्ध धर्मावलम्बी भने शस्त्रपरित्याग दिवस मनाउँछन्।

गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।  

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।

माथिकाे मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा भनिन्छ।

महिलालाई भने दुर्गादेवीको स्वरूप मानेर याे आशीर्वाद दिइन्छ :

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।

आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्न भीड गरेर हिंँड्ने चलन छ। तर यस वर्ष कोरोना महामारी भएकाले सुरक्षा अपनाउनुपर्ने अवस्था छ।

मान्यजनसँग आशीर्वाद लिन जाँदा उनीहरूलाई नै जोखिममा नपार्ने गरी हाेसियारी अपनाउन समितिले सबैमा आह्वान गरेको छ।

याे पनियसपटक टीका लगाउँदा ध्यान दिनैपर्ने विज्ञका १२ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad