ad ad

समाज


बैतडीको पाटन बजार क्षेत्र सिल, देहिमाडौँ बन्द

बैतडीको पाटन बजार क्षेत्र  सिल, देहिमाडौँ बन्द

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ७:४०,

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ।

यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ। पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरेको हो। शनिबार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो।

पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरप्रमुख चन्दले बताए। यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाइएको हो। उक्त निर्णयको कसैले उल्लंघन गरेमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको छ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै बलिमा रोक लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए। यसैबीच दशरथचन्द नगरपालिका २ स्थित देहिमाडौँ बजार दुई दिनका लागि बन्द गरिएको छ। यसका साथै सवारी आवागमनमा रोक लगाईएको छ। महाअष्टमीका दिन जिल्लाकै सबैभन्दा बढी बलि हुने देहिमाडौँस्थित प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा हुने मेला, जात्रा तथा बलि हुने भएकोले भीडभाड कम गर्न बजार बन्द र सवारी अवागमनमा रोक लगाएको हो।

वडा कार्यालयले एक सूचना प्रकाशित गरेर शुक्रबार र शनिबार बजार बन्द गर्नुका साथै शनिबार बजारमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको वडा अध्यक्ष रनबहादुर बोहराले बताए। महाअष्टमीको दिन शनिबार देहिमाडौँमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा हुने बलिसहितको जात्रामा भीडभाडमा रोक लगाउन सशस्त्र प्रहरी र नेपाली प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

यस्तै मेला अवधिमा कसैले मदिरा सेवन गरी होहल्ला गरेको पाइएमा ५ हजार जरीवाना, कसैले मदिराको बिक्री वितरण गरेको पाइएमा १० हजार जरिवाना र कसैले जुवातास खेलेको अथवा खेलाइएको पाइएमा ५ हजार जरीवाना गरिने सूचनामा उल्लेख गरिएको छ।

यसअघि जिल्ला सुरक्षा समिति र कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा हुने सबै प्रकारका जात्रा, मेला, बलि तथा भीडभाड हुने क्रियाकलापमा रोक लगाउने निर्णय गरिसकेको छ। यसका साथै जिल्लाका अन्य शक्तिपीठमा पनि भीडभाड हुने गरी पूजाआजाका कार्यक्रम नगर्न अनुरोध गरिएको छ। बैतडीमा दशैंतिहारको बेला सुदूरपश्चिम प्रदेशकै बढी पशुबलि हुने गर्दछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .