समाज


कोरोनाको कहरमा कसरी मान्ने दसैं? यस्तो छ विज्ञको सुझाव

कोरोनाको कहरमा कसरी मान्ने दसैं? यस्तो छ विज्ञको सुझाव

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ०:४७,

काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण फैलिँदो क्रममा छ। यस्तो अवस्थामा कसरी दसैं मान्ने? टीका र आशिर्वाद लिने कि नलिने? 

उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सुझाव दिएका छन्।सङ्क्रमण तीव्ररूपमा फैलिँदै गएकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा.रवीन्द्र पाण्डेको सुझाव छ।

दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उनले बताए। ‘जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेरै वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ,’ उनले भने, ‘टीका थाप्ने र लगाउने दुवै पक्षले मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्छ। घर बाहिर निस्केपछि मास्क खोल्नु हुँदैन। बाहिरतिर खाजाखाना पनि नखाएको राम्रो।’

दसैं, तिहार, छठ, ल्होसार जस्ता पर्वले गर्दा बजारमा भीडभाड बढ्छ। ‘यस्तो अवस्थामा कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउनु पर्छ । नागरिकले पनि यो आफ्नै हितको लागि हो भनेर स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नुपर्छ,’ डा.पाण्डेले भने, ‘काठमाडौँका फुटपाथका पसललाई खुलामञ्च वा भृकुटीमण्डपमा सार्नुपर्छ र बसहरूमा एक सिटमा एक जना मात्रै बस्नुपर्छ।’

काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाई ‘होम आइसोलेसन’ मा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ । घर जाने व्यक्तिले आफूसँगै सङ्क्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्ने र यसबाट पछि गम्भीर अवस्था सिर्जना हुनसक्ने उनले बताए।

सरकारले के ग¥यो र के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा.पाण्डेको सुझाव छ।

नेपालमा कोभिड फैलिएको आठ महिना बितिसक्दा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न र र भीडभाड नगर्नेतर्फ आवश्यक ध्यान दिएका छैनन्। मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा सङ्क्रमण फैलने सम्भावना कम हुने विभिन्न अध्ययनहरुले देखाएक छन्।

नब्बे प्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमा छ। ती देशमा नागरिकलाई खोप पनि नचाहिएको र सरकारले बन्दाबन्दी पनि नगरेको डा.पाण्डे बताउँछन्। ‘जनता अनुशासित हुँदा महामारी घट्छ, कोरोना चाँडो नियन्त्रणमा आउँछ,’ उनले भने।

काठमाडौँ उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड–१९ फैलिसकेकाले दशैँ तिहार, छठलगायत चाडपर्वमा सङ्क्रमण अझै धेरै फैलनसक्ने अनुमान विज्ञले गर्दै आएका छन् । घर बाहिर हुँदा मास्क नलगाउने र भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने माग पनि उठ्न थालेको छ।

अहिले पनि सही तरीकाले मास्क लगाउँदा र सामाजिक दूरी कायम गर्दा छ देखि १२ हप्तामा सङ्क्रमण नियन्त्रणमा आउने डा.पाण्डेको भनाइ छ । यस वर्ष चाडपर्वमा बलि दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्ने उनको जोड छ।

चाडपर्वका समयमा कसरी सङ्क्रमण फैलन रोक्न सकिन्छ भनी मुख्यसचिव शङ्करदास वैरागीले गत साता विज्ञसँग सुझाव लिएका थिए। विज्ञले बन्दाबन्दी गरे वा नगरे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएका छन्।

पहिले ‘लकडाउन’ वा ‘सटडाउन’ गर्दा बजार वा सडकमा मात्रै आवतजावत रोकेर बस्ती, चोकमा तरकारी बजारमा भीड देखिएको थियो। ‘अहिले लकडाउन नाम नदिइए पनि भीडभाड हुने स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाएर भीड नियन्त्रण र मास्कको प्रयोग बढाउनुपर्छ,’ डा.पाण्डेले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad