ad ad

समाज


भैरहवाको युसीएमएसमा स्वचालित मेसिनबाट पीसीआर परीक्षण सुरु

भैरहवाको युसीएमएसमा स्वचालित मेसिनबाट पीसीआर परीक्षण सुरु

प्रकाश न्यौपाने
कात्तिक ६, २०७७ बिहिबार १२:३०,

रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस)ले पूर्णस्वचालित मेसिनबाट पीसीआर परीक्षण सुरु गरेको छ।

जनस्वास्थ्यको सुरक्षालाई मध्यनजर गरी अस्पतालको हाताभन्दा बाहिर बायोसेफ्टी दोस्रो तहको प्रयोगशाला स्थापना गरेर बुधबारबाट पीसीआर परीक्षण सुरु गरिएको हो।

अमेरिकन प्रविधि अज्यूर बायोसेफ्टीमा आधारित यो स्वचालित मेसिनबाट दैनिक ४ सयभन्दा बढी नमूनाहरु जाँच्न मिल्ने अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए।

अस्पतालकाअनुसार आकस्मिकबाहेक दैनिक दुईपल्ट रिपोर्ट दिने गरी अस्पतालले विरामीहरुका लागि बिहान ७ बजे र साँझ ४ बजे नमूना संकलन गर्ने व्यवस्था मिलाएको छ। नेपाल सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता लिइ प्रयोगशाला सञ्चालन गरिएको हो। प्रयोगशाला स्थापना गर्न अस्पतालले पीसीआर उपकरणसहित भौतिक पूर्वाधारका लागि १ करोड ६० लाख रुपैयाँ लगानी गरेको गुरुङले बताए।

परीक्षण शुल्क भने सरकारले ताकेअनुसार दुई हजार रुपैयाँ लिइने छ। अस्पतालले गएको भदौ १८ गतेदेखि कोभिड अस्पतालसमेत सञ्चालनमा ल्याएको थियो। त्यसयता हालसम्म १७९ जना कोरोना संक्रमित विरामीको उपचार गरिएको छ। जसमध्ये ९९ जना उपचापछि निको भएर घर फर्किएका छन्। उपचारका क्रममा भने १५ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

अहिले भेन्टिलेटरमा २, आइसीयूमा ८, कोभिड एचडी बेडमा १२ र जनरल बेडमा २६ जना उपचाररत रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट प्राध्यापक डाक्टर सदनमुखीले बताए। युसीएमएसले कोरोना जोखिमलाई ध्यान दिँदै १७० बेड, ९ आईसीयू र ६ वटा भेन्टिलेटर संक्रमित विरामीको उपचारका लागि छुट्याएको उनले बताए।

‘हामीले बढीभन्दा बढी नागरिकलाई सुविधा दिन चाहन्छौं। यसका लागि संरचना थप गरेका छौं। अबदेखि कोरोना परीक्षण गर्न अन्यत्र धाउनु पर्दैन’, उनले भने।

योसँगै रुपन्देहीमा निजी क्षेत्रका दुई र सरकारी दुई गरी ४ वटा पीसीआर परीक्षण प्रयोगशाला भएका छन्। यसअघि निजी क्षेत्रबाट नेशनल प्याथल्यावले परीक्षण गर्दै आएको थियो। सरकारले भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराउँदै आएको छ।

पीसीआर मेसिनको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पछिल्लो समय कोरोनाका लक्षणसहितका विरामी बढीरहेकाले सबै सचेत हुनु पर्ने बताए। उनले यस्तै अवस्था रहीरहे अस्पतालमा बेड नपाउने अवस्था आउने भन्दै क्षमता बृद्धि गर्न सबै अस्पतालहरुलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .