तन्नेरी चासोले आयोजना गरेको ‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिताको उपाधि गुल्मीकी बबिता कुँवरले जितेकी छिन्।
कुँवरको बन्द स्कुलमा चियाउँदै गरेको बालकको तस्बिरले यस प्रतियोगिताको प्रथम पुरस्कार जित्न सफल भएको हो। यसैगरी जियालाल शाहको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालको आइसियुमा एक बिरामीले अर्का बिरामीलाई अक्सिजन लगाउँदै गरेको तस्बिर दोस्रो भएको छ भने केशवराज थोकरको लकडाउनका बेला कलंकीमा ट्रक चढेर आफ्नो घरतर्फ जानलाई तँछाडमछाड गर्दै गरेको तस्बिर तेस्रो भएको छ।

कोरोना भाइरसको महाव्याधिले पारेको प्रभाव र फेरिएको जीवनशैली र नियन्त्रणका लागि भइरहेको प्रयास, यसले सिर्जना गरेको अवस्था र हाम्रो दैनिकीहरूलाई तस्बिरका माध्यमबाट समेट्ने उद्देश्यका साथ फोटो पत्रकार क्लबसँगको सहकार्यमा तन्नेरी चासोले ‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिता घोषणा गरेको थियो। प्रतियोगितामा देशभरबाट १३८ जना फोटोग्राफरको ४५० वटा तस्बिरहरू प्राप्त भएको थियो।

एजेन्सी फ्रान्स प्रेस, नेपालका वरिष्ठ फोटो पत्रकार प्रकाश माथेमाको अध्यक्षता रहेको निर्णायक मण्डलमा समाजशास्त्री तथा नीति विश्लेषक प्रेम सापकोटा र अन्नपूर्ण पोस्टका फोटो सम्पादक एवं फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की रहेको थियो। निर्णायक मण्डलले विजेता सहित उत्कृष्ट ५० फोटोहरू छानेका थिए।
प्रतियोगिताको विजेताले नगद रु तीस हजार, द्वितीय र तृतीय हुनेले नगद क्रमशः पच्चिस र बीस हजार रुपैयाँ प्राप्त गरेका छन्।
निर्णायक मण्डलका अध्यक्ष प्रकाश माथेमाले ‘प्रतियोगितामा आएका सबै फोटोहरू राम्रो रहेको बताउँदै, हाम्रो प्यानलले आफ्नो वेस्ट ईफोर्ट दिएको र डिर्जबिङ फोटोहरू नै विजेता बनेको’ बताए।
कोरोनाको कारण भएको परिवर्तन लगायत समाजमा परेको समस्या र यसका गतिविधिका धेरै किसिमका मन छुने तस्बिरहरू सहित धेरै राम्रा फोटोहरू भएको बताउँदै समाजशास्त्री तथा नीति विश्लेषक प्रेम सापकोटा ले भन्नुभयो, ‘राम्राबाट उत्कृष्ट र उत्कृष्टबाट सर्वोत्कृष्ट फोटो छानिएको’ बताए।

फोटो प्रतियोगिताका निर्णायक मण्डलका सदस्य विकास कार्कीले ‘जजिङ गर्ने काम सजिलो हुँदैन तर हामीले थिम अनुसारको न्यायोचित हुने आएका मध्ये उत्कृष्ट तस्बिरहरू छानेको बताउँदै नेपाली फोटोग्राफरहरू थिम अनुसारको फोटो छान्ने क्षमतामा अझै सुधार गर्नुपर्ने देखिन्छ’ भने।
प्रतियोगितामा आएका फोटोहरूमध्ये विजेता सहित उत्कृष्ठ ५० फोटोहरु र तेस्रो राउन्डसम्म पुग्न सफल फोटोहरूको भर्चुअल फोटो प्रदर्शनी गरिने योजना रहेको आयोजकले जनाएको छ।
‘तन्नेरी चासो’ युवाहरूले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरू विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो। यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरूमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ।


Shares

प्रतिक्रिया