समाज


तिलोत्तमाले कोरोनाबाट मृत्यु हुने नगरबासीको शव व्यवस्थापन गर्ने, पीसीआर परीक्षण पनि निःशुल्क

तिलोत्तमाले कोरोनाबाट मृत्यु हुने नगरबासीको शव व्यवस्थापन गर्ने, पीसीआर परीक्षण पनि निःशुल्क

प्रकाश न्यौपाने
कात्तिक ४, २०७७ मंगलबार ७:१२,

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नै लिने निर्णय गरेको छ।

कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैंले गर्ने निर्णय गरेको हो। यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो।

शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकार पछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो। बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ।

तिलोत्तमामा मंगलबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकोमा ३९३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ३२५ जना सक्रिय संक्रमित छन्।

बैठकले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ। संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाहरुको नगरपालिकाको खर्चमा पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको हो।

संघीय सरकारले सबैको पीसीआर परीक्षण समेत निःशुल्क नगर्ने निर्णय सार्वजनिक गरिरहँदा तिलोत्तमा नगर सरकारले त्यसको जिम्मेवारी समेत आफैंले लिने निर्णय गरेको हो।

यस्तै नगरपालिकाले शंकरनगर आइसोलेसन सेन्टरमा अक्सिजन सिलिन्डरको संख्या थप गर्ने निर्णय समेत गरेको छ। कोरोना संक्रमितले अक्सिजनको अभावमा मृत्युवरण गर्न परिरहेका खबर आइरहँदा तिलोत्तमाले आइसोलेसनमा अक्सिजन सिलिन्डरको संख्या ६ बाट २० पुर्याउने निर्णय गरेको हो। हाल आइसोलेशनको क्षमता ४० बेड रहेकोमा बेडको संख्या पनि बढाउने निर्णय सीसीएमसी बैठकले गरेको कार्यवाहक नगर प्रमुख चौधरीले बताइन्।

हाल तिलोत्तमाको आइसोलेसनमा अन्य पालिकाबाट जाँच भइ आएका २२ जना संक्रमति छन्। बैठकले संक्रमितहरुलाई स्वास्थ्य लाभको कामना गर्दै घर–घरमा आयुर्वेदिक जडिबुटी पुर्याउने कार्यक्रमलाई निरन्तर दिने निर्णय समेत गरेको छ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले कोरोना महामारी सुरु भएपछि संघीय सरकारबाट संक्रमण रोकथाम, उपचार तथा राहतको लागि २ लाख र प्रदेश सरकारबाट १५ लाख रुपैयाँ नगरपालिकाको खातामा आएको जानकारी दिए।

बैठकले दसैं–तिहार पर्वमा बाहिरी जिल्ला तथा भारत एवं तेस्रो मुलुकबाट नगरपालिकामा आउने नगरबासीलाई स्वास्थ्य प्रोटोकललाई ख्याल राख्दै सिधैं समाजमा घुलमिल नहुन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .