ad ad

समाज


मदन भण्डारी राजमार्गलाई निजगढ–काठमाडौँ द्रुतमार्गसँग जोड्न यसरी हुँदै छ तयारी

 मदन भण्डारी राजमार्गलाई निजगढ–काठमाडौँ द्रुतमार्गसँग जोड्न यसरी हुँदै छ तयारी

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ३:५६,

हेटौँडा-काठमाडौँ मदन भण्डारी मार्गलाई निजगढ–काठमाडौँ द्रुतमार्गसँग जोड्नका लागि अध्ययन थालिएको छ।

वाग्मती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि संघीय सरकारले त्यसबारेमा अध्ययन थालेको हो।

बागमती प्रदेश सरकारले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि संघीय सरकारले सम्भावित बिन्दुको खोजी शुरु गरेको हो। संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौँ–निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका-८ र इन्द्रसरोवार गाउँपालिका-३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा–काठमाडौँको सडक दूरी ५४ किलोमिटरमा छोटिने छ।

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित विन्दुको अवलोकन गरेका छन्।

अवलोकनपछि उपाध्यक्ष कँडेलले द्रुतमार्गको प्रारम्भमा यससँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताए। अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको उनको भनाई छ। समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरुले द्रुत मागको अवलोकन र अध्ययन गरेको उनले बताए।

पहिलो चरणमा व्यवहारिक र सामान्य अवलोकन गरिएको उनले बताए। ‘अब प्राविधिक अध्ययन गरेर मात्रै द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुङ्गो लाग्छ,’ उनले भने, ‘दुई द्रुतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत विभिन्न सडकखण्डलाई फाराकिलो बनाउने, मोड घटाउन सुरुङ खन्ने र दूरी कम गर्न द्रुतमार्गसँग पहुँच स्थापना गर्ने कामका लागि थालेको पहल विकास निर्माणको आवश्यक प्रक्रिया भएकाले नेपाल सरकारले यसमा सहयोग र सहकार्य गर्ने बताए।

‘प्रदेशले हेटौँडा–काठमाडौँको दूरी ५४ किलोमिटरमा छोट्याउने जुन लक्ष्य लिएको छ, त्यो सरहानीय छ, नेपाल सरकारले यसलाई सहयोग गर्छ,’ उनले भने।

मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टट्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउँछन्।

हाल पूर्वी नेपाल र तराईका साना सवारीबाहेकका सवारी साधन हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटर काठमाडौँ गरी २२८ किलोमिटर लामो यात्रा गर्न बाध्य छन्। ५४ किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका सवारी साधनको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने मुख्यमन्त्री पौडेलको भनाई छ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताए।

हाल यो सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको छ। चाँडै कालोपत्रको काम गर्ने प्रदेश सरकारको तयारी छ। प्रदेश सरकारले गौरवको योजनाको रूपमा सुरुङसहित स्तरीकरणको काम गर्न लागेको छ। भैँसे–भीमफेदी सडक विस्तारको योजनासमेत कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री पौडेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .