तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन्। तीमध्ये एक बाबु र दुई छोरा छन्।
९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बीएन्डबी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। अवस्था सुधार नभएपछि उनलाई काठमाडौँ लगियो। उपचारका क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो।
योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो। रासस
Shares

प्रतिक्रिया