कोरोना संक्रमणको कारण तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
तनहुँको भिमाद नगरपालिका- ६ का धर्मकुमार श्रेष्ठ र उनका दुई छोराको एक साताको अन्तरमा संक्रमणबाट मृत्यु भएको हो।
१८ असोजमा ७१ वर्षका विष्णुकुमार श्रेष्ठ, २४ मा उनका दाजु ७४ वर्षका कृष्णकुमार र २५ असोजमा बाबु ९८ वर्षीय धर्मकुमारको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
मृतक धर्मकुमारका ज्वाइँ शंकनारायण श्रेष्ठका अनुसार एक जनाको चितवनमा र बाँकी दुई जनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो।
कोरोना संक्रमणको कारण परिवारका अन्य दुई जना सिकिस्त छन्। उनीहरुको काठमाडौंमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
विष्णुकुमारको १८ असोजमा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो भने उनका दाजु कृष्णकुमार र बाबु धर्मकुमारको काठमाडौंमा मृत्यु भएको हो।
परिवारका जेठा छोरा रामकुमारको हाल ह्याम्स अस्पताल काठमाडौंमा उपचार भैरहेको छ। माहिली बुहारी (कृष्णकुमारकी पत्नी) विश्वशान्ति पनि संक्रमित छिन्।
उनको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टीलेटरमा उपचार भइरहेको छ। श्रेष्ठ परिवारका नौ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। बाँकी चार जना भने संक्रमण मुक्त भएका छन्।

प्रतिक्रिया