जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेको हो।
काठमाडौं महानगरपालिका ७ रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको सीआईबी प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए।
राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण पत्र बनाई पर्सा बीरगञ्ज महानगरपालिका ५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घर समेतको जग्गा जग्गाधनीलाई नै थाहानभइ आफ्नो नाममा सारेका थिए।
मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराएर सोही जग्गा पर्सा बीरगञ्ज महानगरपालिका ४ का एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको अनुसन्धनाको क्रममा खुल्न आएको हो।
निजलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
Shares
प्रतिक्रिया