ad ad

समाज


मनुजबाबु मिश्रको निबन्ध संग्रह ‘एकलानुभूति’ सार्वजनिक

मनुजबाबु मिश्रको निबन्ध संग्रह ‘एकलानुभूति’ सार्वजनिक

नेपालखबर
असोज १३, २०७७ मंगलबार ११:४७,

झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महांकालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ।

उनका यसअघि प्रकाशित ६ वटा निबन्धसंग्रहबाट चर्चित साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा संगृहीत छन्। मिश्रका विभिन्न निबन्धसंग्रहका फरकफरक अनुहारका रूपमा यो पुस्तक रहेको न्यौपानेले बताए।

‘एउटै मनुजबाबु मिश्रमा तारानाथ शर्माको जस्तो झर्रो शैली, लक्ष्मीप्रसाद देवकोटाको जस्तो स्वच्छन्दता र भैरव अर्यालको जस्तो हास्यव्यङ्ग्य पाइन्छ,’ न्यौपानेले भने, ‘उनको लेखनमा अद्भुत बौद्धिकता, अनुभूतिको तीव्रता र स्मरणशक्तिको गहिराइ पाइन्छ। जुन विषयवस्तुमा उनी निबन्ध लेख्छन्, पाठकले नसोचेको तर सोच्नुपर्ने ठाउँमा पुर्‍याउँछन्।’

मनुजबाबु मिश्र एक परिचित नेपाली निबन्धकार रहेको प्राध्यापक एवम् लेखक अभि सुवेदीले बताए। ‘उनका निबन्धमा निजत्व र विचारको प्रभावकारी संयोजन हुन्छ। एक कलाकार भएका कारणले मिश्र निबन्धलाई पनि तूलिकाघात गरेर बनाउने कलाका रूपमा लिन्छन्,’ सुवेदी भन्छन्, ‘त्यसैले उनका चित्रकलामा जस्तै निबन्धमा उपमा र उपमेयका सूक्ष्म रचना नभएर दृष्टिगोचर, सोझै प्रभाव सिर्जना गर्ने भाष्यको प्रयोग गरिएको हुन्छ।’

मिश्रले ज्ञान, विज्ञान र निजत्व बुझाउने संस्मरणजन्य विषयलाई आफ्ना निबन्धमा प्रयोग गर्छन्, जुन उनको एक निबन्धकारका रूपमा मौलिक विशेषता रहेको सुवेदीको भनाइ छ।
एक महान् कलाकारका कृतिलाई पाठकसामु ल्याउन पाउनु आफूहरूका लागि सौभाग्यको विषय रहेको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए। ‘मिश्र एक महान् कलाकार हुन्, उनका चित्रकला जति जीवन्त छन्, निबन्ध पनि उत्तिकै प्रभावशाली छन्,’ उनले भने, ‘मिश्रले भोगको समाज, त्यति बेलाको विश्व एवम् विविध विषयलाई अहिलेको पुस्ताले पढ्नुपर्छ भनेर यो पुस्तक प्रकाशनमा ल्याएका हौं।’

मिश्रका कला अन्तर्राष्ट्रिय रूपमा प्रदर्शित एवम् प्रतिष्ठित छन् । निबन्ध, उपन्यास, बाल साहित्य र कलाका इतिहास गरी डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्। मिश्रको यो निबन्धसंग्रहमा जीवनजगत्का विविध पक्षलाई सटीक ढंगले प्रस्तुत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .