ad ad

समाज


रुपन्देहीमा बाढी पस्दा तीन घर भत्किए, तिनाउले एक घर बगायो

रुपन्देहीमा बाढी पस्दा तीन घर भत्किए, तिनाउले एक घर बगायो

प्रकाश न्यौपाने
असोज ८, २०७७ बिहिबार १३:५३,

तीन दिनदेखि परेको अबिरल वर्षाले रुपन्देहीमा पनि क्षति पुर्‍याएको छ। तिनाउमा आएको बाढीले बुटवलमा एउटा घर बगाएको छ भने दानव नदीमा आएको बाढी पस्दा लुम्बिनीका तीनवटा कच्ची घर भत्किएका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२, भर्तापुरमा दानव नदीको पानी पस्दा डुवानमा परी राधेश्याम मल्लाहको फुसले छाएको कच्ची घर, उद्धव मल्लाहाको माटोको देवाल भएको घर र अजय मल्लाहको माटोको देवाल भएको फुसले छाएको घर भत्किएको हो।

यस्तै, बुटवलमा प्रेमकुमारी खाम्चाको ४ कोठे बलक जडान भएको टिनले छाएको घर तिनाउले बगाएको छ। सोही ठाउँका सुन्दर गन्धर्वको ट्वाइलेट तथा बाथरुम पनि नदीले बगाएको छ।

badhi2.jpg

यहाँ गणेश गैरे, तिलक गैरे र पुरुषोत्तम पुरीको घर जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

लगातारको अबिरल वर्षापछि रुपन्देहीका दानव र तिनाउ नदी छेउका बस्ती जोखिममा परेरका छन्। बिहीबार गाउँनै डुवानमा परेरपछि भर्तापुरमा सशस्त्र प्रहरीले स्थानीयलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेको थियो। अहिलेसम्म मानवीय क्षति नभए पनि पानी परिरहेकाले नदी छेउका बासिन्दालाई सुरक्षित स्थानमा रहन सशस्त्र र नेपाल प्रहरीले आग्रह गरेका छन्।

तिनाउ र दानव नदीमा पानीको बहाव उच्च भएको छ। भर्तापुरमा कयौं घर डुवानमा परेका छन्।

‘त्यहाँ धेरै घरमा डुवान भएको छ। पानी घरभित्र पस्दा केही कच्ची घरहरु भत्किए भने केही जोखिममा छन्’, सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख एसपी तेज पोखरेलले भने, ‘डुवान परेको थाहा हुँदावित्तिकै हामीले विहानैदेखि उद्धारमा लागेका थियौं।’

badhi4.jpg

भर्तापुरमा रहेका करिब ६० घर परिवार वर्षेनि डुवानमा पर्ने गर्छन्। वर्षेनि डुवानमा पर्दासमेत यहाँको वस्तीलाई अन्यत्र नसारिँदा डुवानको समस्या दोहोरिरहने गरेको छ। कयौंले त ज्यान नै गुमाइसकेका छन्।

लगातारको वर्षाका कारण डुवानमा परेको बस्तीबाट खाद्यान्न, लत्ता कपडा, पशु चौपाया तथा बालबालिकालाई सशस्त्रको टोलीले सुरक्षित ठाउँमा सारेको छ। सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि उद्धारमा खटिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .