कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रीय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टीकरण दिएका छन्।
असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रीय कारागारले बताएको छ।
घटनाका विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा जेलर लक्ष्मीप्रसाद बास्कोटाले तीन दिनदेखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरु रहेको, सन्निएको तथा मुख र नाकबाट तरल पदार्थ देखिएको बताए।
शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा ती लक्षणहरु देखिएको उनको भनाइ थियो। सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रमक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सीसीटीभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको र बाँकी पोस्टमार्टम रिपोर्टपछि थाहा हुने बताए।
वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पु¥याइएका बेला नै जैसवाल जीवित रहेको कुनै पनि लक्षण नरहेको बताए। अस्पतालमा कुनै पनि प्रकारको उपचार नभए पनि पोस्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रह अनुसार पीसीआर परीक्षण गरिएको उनले बताए।
वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मि मौसम भएकाले शव सुनिने, फोका आउने, विभिन्न भागमा दाग देखिएको उनको भनाइ थियो। बाहिर आएजस्तो शरीरमा कुनै चोटपटक भएको, आँखा निकालिएको भन्ने कुरा सही नभएको उनले बताए।
अस्पतालको फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठले तीन दिनपछि शव सुन्निएको, फोकाहरु देखिएको, मुख सुन्निएर चिन्नै नसकिने अवस्था भएको, जिब्रो बाहिर निकालेको र मुख र नाकबाट रगत बगेको देखिएको बताए। भित्री समस्या के थियो भन्ने कुरा पोस्टमार्टमपछि थाहा हुने उनले बताए।
Shares

प्रतिक्रिया