ad ad

समाज


रेल चलाउन चालकसहित २६ कर्मचारी भारतबाट ल्याइने, डेढ सयबढी नेपाली भर्ना गरिने

रेल चलाउन चालकसहित २६ कर्मचारी भारतबाट ल्याइने, डेढ सयबढी नेपाली भर्ना गरिने

नेपालखबर
असोज ६, २०७७ मंगलबार १४:५३,

 सरकारले हालै नेपाल ल्याएका दुई वटा रेल चलाउन भारतबाट कर्मचारी ल्याउने भएको छ। रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालनका लागि भारतबाट विज्ञ भर्ना गर्न लागिएको बताए।

यसका लागि भारतसँग कुरा भइसकेको र यही महिनाभित्र सम्झौता भइसक्ने मिश्रले नेपालखबरलाई बताए।

जनकपुर–जयनगर चलाउन गत शुक्रबार दुई वटा रेल ल्याइएको छ। तर ती रेल तत्काल सञ्चालन नहुने भएका छन्।

‘अहिले हामीसित रेलबारे बुझेका जनशक्ति छैनन्, २६ जना विज्ञ भारतबाट ल्याउने हो,’ मिश्रले भने, ‘यसका लागि भारतसँग कुरा गरिसकेका छौं, सम्झौता हुन बाँकी छ, यही महिनाभित्रमा सम्झौता भइसक्छ।’

रेलका चालक सहचालकदेखि प्राविधिकसम्म भारतबाटै ल्याउन लागिएको हो। रेलका चालक, सहचालक, मर्मतका कर्मचारी नियमित चेकजाँच गर्ने प्राविधिक भारतबाट ल्याइने छ।

नेपालले भारतबाट किनेर ल्याएका रेल गतसाता भारतले नै ल्याइदिएको हो। ती रेल अहिले भारतकै सीमानास्थित धनुषाको इनरुवा स्टेसनमा राखिएको छ। रेल त्रिपालले छोपेर सशस्त्र प्रहरीको सुरक्षा जिम्मामा छाडिएको छ।

‘रेल भनेको सतप्रतिशत सिस्टममा चल्ने चीज हो, स्टेसनबाट स्टेसन थ्रु जान्छ, स्टेसनमा अनाधिकृत मान्छे छिर्न दिनु भएन, टिकट काट्नु पर्यो, ठाउँठाउँमा स्टेशनलाई ह्यान्डिल गर्ने गाउँले स्टाफको व्यवस्थापन पनि गर्न बाँकी छ,’ मिश्रले भने।

यी दुई वटा रेल चलाउन करिब २ सय जना कर्मचारी आवश्यक पर्ने रेल विभागले जनाएको छ। यसका लागि नेपाली कर्मचारी भर्नाको प्रक्रिया पनि सुरु हुने महानिर्देशकले बताए।

‘हामीले यसबाहेक स्थानीय कर्मचारी पनि ठूलो संख्यामा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेका छौं, सायद तिहार आसपासबाट रेल सञ्चालन गर्न सकिन्छ कि भन्ने हाम्रो तयारी हो’, मिश्रले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .