काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोप्न महिला सक्रिय भएका छन्।
संविधान दिवसको अवसर पारेर गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाले शनिबार, रोगप्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोपेका हुन्।
सञ्जालको ११औं साधारणसभाको समेत अवसर पारेर आयोजना गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय (लाहान) का प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले करिब १०० वटा गुर्जोका बिरुवा उपलब्ध गराएका हुन्।
लाहानको सरकारी निवास परिसरमा गुर्जोका बिरुवा उत्पादन गरी राजलवटले वाग्मती किनारलाई गुर्जो रोपण केन्द्र बनाएर एक हप्ता अघिदेखि नै निःशुल्क वितरण गरिरहेका छन्।
गत हप्ता उनले अधिकार–सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय (गुह्येश्वरी) लाई पनि बिरुवा उपलब्ध गराएका थिए।
घरघरमा गुर्जोका बिरुवा पुर्याउने अभियानमा लागेका राजलवट आफूले ११ वर्षदेखि नियमित रूपमा गुर्जाे सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउँछन्।
गुर्जोको नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उनको भनाइ छ। मधुमेह रोगबाट पीडित उनी नियमित गुर्जो सेवनबाट फाइदा भएपछि सामूहिक रूपमा बिरुवा वितरण अभियानमा लागेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी बताउँछन्।
मानव शरीरमा रोग–प्रतिरोधी क्षमताको विकास, शारीरिक शक्ति बढाउनाका साथै शरीरभित्र जमेका विकार बाहिर निकाली मानिसलाई स्वस्थ बनाउन गुर्जो उपयोगी रहेको उनले बताए।
विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग–प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ।
शनिबार गोकर्णमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरसभा सदस्य जयराम महतले पनि आफूले ६ महिनादेखि गुर्जोको उपयोग गर्दा ग्यास्ट्रिक ठीक भएको अनुभव सुनाए।
रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्सजस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवटको दाबी छ।
गर्भवतीले भने गुर्जोको प्रयोग गर्न हुँदैन। पाँच वर्षमुनिका बालबालिकालाई पनि यसको सेवन नगराउनु राम्रो हुन्छ।
डाँठ, पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रूपमा उपयोग गर्न सकिन्छ।
राजलवटले हालसम्म देशभर ६० हजार गुर्जोका विरुवा वितरण गरिसकेका छन्। राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उनले जानकारी दिए।
नगरपालिकामार्फत राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ। रासस

प्रतिक्रिया