समाज


न्याय नपाएपछि बलात्कृत किशोरीद्वारा आत्महत्या

न्याय नपाएपछि बलात्कृत किशोरीद्वारा आत्महत्या

नेपालखबर
भदौ ३१, २०७७ बुधबार २:०,

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन्।

बलात्कारीहरुविरुद्ध प्रहरीमा उजुरी नगर्न गाउँलेहरुले चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका-७ ललितपुरकी १७ वर्षीया किशोरीले आत्महत्या गरेकी सप्तरी प्रहरीले जनाएको छ।

सोमबार बिहान धानखेतमा पानी लगाउन गएकी किशोरीमाथि चार जनाको समूहले सामूहिक बलात्कार गरेका पीडितकी आमाले बताइन्।

दोषी चार जनाविरुद्ध उजुरी गर्न प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले रोकेका पीडित पक्षको भनाई छ। गाउँलेले भेला बसेर उजुरी गर्न जानबाट रोकेका पीडित किशोरीकी आमाले बताइन्। आफूमाथि बलात्कार गर्नेविरुद्ध उजुरी गर्न नपाएपछि किशोरी निकै तनावमा परेकी थिइन्।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन्।

मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए।

साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घटना अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खडकाले बताए।

घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ।

घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ।

किशोरीको मृत्युपछि सामूहिक बलात्कारमा संलग्न चारै जना आरोपित गाउँबाट फरार भएका छन्। घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपुर्ती भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ। मृतकको शव मंगलबार राति राजविराज ल्याइएको छ। प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad