ad ad

समाज


प्रहरीबाट १० लाख लुटिएका व्यापारीले नै तस्करलाई सुन किन्न १ करोड दिएको खुलासा

प्रहरीबाट १० लाख लुटिएका व्यापारीले नै तस्करलाई सुन किन्न १ करोड दिएको खुलासा

उजिर कार्की
भदौ २९, २०७७ सोमबार ११:५४,

असार ७ गते न्युरोडका व्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटियो। लुटपाटमा काठमाडौं प्रहरी परिसरकै घुमुवा प्रहरीको संलग्नता रहेको खुल्यो। दुई प्रहरी पक्राउ परे।

अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत सो मुद्दा अदालतमा दर्ता गर्‍यो। तर, अग्रवाल भने बयानमा समेत उपस्थित भएनन्।

उनी बयानमा नआउनुको कारण हो– सुन्धारामा सुन र हतियार बरामद प्रकरणमा अग्रवालको संलग्नता। सो घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि अग्रवाल फरार भएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार मुद्दा अनुसन्धान अन्तिम चरणमा पुगेपनि अग्रवाल हालसम्म फरार छन्। उनलाई फरार सूचीमै राखेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

घटनामा संलग्न ११ जना पक्राउ परिसकेका छन्। तर सुन किन्न निलेश सखियालाई एक करोड रुपैयाँ दिएका अग्रवाल भने फरार छन्।

भारतबाट हुण्डीमार्फत उनले रकम ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका निलेशले उनैबाट रकम लिएर सुन किनेको र सो सुन चाँदीमा लेप लगाउन प्रयोग भएको बताएका छन्।

साउन १३ गते सुन्धारामा प्रहरीले आधा किलो सुन, साढे १५ किलो चाँदी र दुई थान हतियार फेला पारेको थियो। त्यसको भोलिपल्ट केही व्यक्तिलाई पक्राउ गरेपछि अग्रवाल पनि फरार भएको प्रहरी श्रोतले जनाएको छ।

यसअघि असारमा उनले हुण्डी गर्न लागेको रकम परिसरका प्रहरीले नै लुटेका थिए। एक महिना पहिलेसम्म पीडित बनेर परिसर धाइरहेका अग्रवाल सुन्धाराको सुनकाण्डपछि एकाएक फरार भएका हुन्।

उनकै उजुरीको आधारमा हवल्दार धीरेन विष्ट र २ नम्बर गणमा कार्यरत सिपाही विक्रमकुमार चन्द थुनामा छन्। तर व्यापारी अग्रवाल भने उक्त घटनामा अदालतमा बयान दिन समेत गएका थिएनन्।

त्यसअघि प्रहरीबाट लुटिएको रकम उनले न्युरोडकै सहकारीबाट निकालेको बताएका थिए।

काँचो सुन दिने पनि न्युरोडकै व्यापारी
तस्करीमा प्रयोग भएको सुन पनि न्युरोडकै व्यापारीबाट गएको खुलासा भएको छ। सुन बेच्ने दुई जना सुन व्यापारी पक्राउ परिसकेका छन्।

सुन्धारामा बरामद भएको आधा किलो सुन बैंकबाटै खरिद गरेर तस्करको हातमा पुर्‍याएको खुलेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

न्युरोडस्थित लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारले बैंकबाट किनेको सुन तस्करलाई बेचेको खुलेको हो।

नेपालमा वाणिज्य बैंकहरुले मात्रै विदेशबाट सुन खरिद गर्न पाउने व्यवस्था छ। बैंकहरुले खरिद गरेको सुन नेपाल सुनचाँदी व्यवसायी संघको सिफारिसमा बैंकले सुनचाँदी व्यवसायीलाई बिक्री गर्छन्।

ज्वेलर्सले वाणिज्य बैंकहरुबाट खरिद गरेको सुन गहना बनाएर बेच्न पाउने भएपनि यसरी ढिकै बेच्न मिल्दैन। विजय ताम्राकारले भने बैंकबाट खरिद गरेको आधा केजी सुन श्रीनिवास उपाध्यायलाई बेचेको र उपाध्यायले निलेश सखियालाई बेचेको पाइएको एसपी राठौरले नेपालखबरलाई बताए।

साढे १५ किलो चाँदी भने न्युरोडकै सिल्भर स्टेट ज्वेलरीबाट किनेको पाइएको छ। चाँदी ढिका नै बेच्न पाउने भएकाले ती व्यापारी पक्राउ परेका छैनन्।

साउन १३ गते भएको उक्त घटनामा दुई प्रहरी जवान प्रशन्न श्रेष्ठ र बहादुरसिंह कडायतसहित ११ जना पक्राउ परेका छन्।

घटनामा संलग्न भएको आरोपमा इल्ताफ हुसेन अन्सारी, निलेश सखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रशन्नका घरबेटी उमेश श्रेष्ठ, कालिगढ मनिष मल्लिक, ज्वेलरी सञ्चालक श्रीनिवास उपाध्याय र विजय ताम्राकार गरी ११ जना प्रहरी हिरासतमा छन्।

भारतीय नागरिक सञ्जय पटेल र विकास अग्रवाल भने फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .