ad ad

समाज


खानेपानी विभागले पायो पहिलो महिला महानिर्देशक

खानेपानी विभागले पायो पहिलो महिला महानिर्देशक

नेपालखबर
भदौ २७, २०७७ शनिबार १२:२८,

 नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ।

करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बिना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि विभागको उप–महानिर्देशक पदमा कार्यरत थिइन्।

विभागका महानिर्देशक सुनिलकुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता शाक्यले बताए। श्रेष्ठ, खानेपानी विभागमा कार्यरत वरिष्ठ सहसचिवहुन। ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो’, प्रवक्ता शाक्यले भने।

श्रेष्ठ खानेपानी विभागको करिब ५० वर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुन। खानेपानी र ढल व्यवस्थापनसम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो।

वरिष्ठताका आधारमा पनि अगाडि रहेकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ।

को हुन महानिर्देशक श्रेष्ठ?

वि.सं. २०५३ देखि सरकारी सेवामा रहेकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी हुन। नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गरेकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गरिन्।

२०६६ साल चैत १२ गते लिखित परीक्षाबाटै बिल्डिङ एन्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) पदमा बढुवा भएकी श्रेष्ठ २०७१ सालमा स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति भएकी थिइन्।

स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उनी २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गरेकी हुन्।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुशासनको पैरवी गर्दै आएका खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्याय अन्य मन्त्रालय तथा निकायमा वरिष्ठता मिचिएको तथा सम्मान नगरिएको भन्दै सरकारको आलोचना भइरहेको समयमा खानेपानी विभागमा वरिष्ठतालाई मन्त्रीले सम्मान गर्दा सकारात्मक सन्देश प्रवाह भएको बताउँछन्। ‘पछिल्लो समय सरकारले गरेको नियुक्तिमा निकै विवाद आइरहेको बेला खानेपानी मन्त्रीले वरिष्ठ कर्मचारीलाई विभागको जिम्मेवारी दिनु सकारात्मक छ। यसले त्यहाँ कार्यरत अन्य कर्मचारीलाई पनि मोटिभेसन हुन्छ र परिणाम पनि सकारात्मक आउँछ’, उपाध्यायले भने।

श्रेष्ठले आफूलाई मन्त्रालयले विश्वास गरेर प्रदान गरेको जिम्मेवारी सबैको सहकार्यमा सफलतापूर्वक सम्पन्न गर्ने बताइन्। ‘पक्कै पनि विभागको प्रमुख हुँदा काम गर्ने अवसर र चुनौतीहरु धेरै छन्। तर, मन्त्रीज्यू, मन्त्रालयको सहयोग, मेरो अनुभव र सबै कर्मचारीहरुको सहयोगबाट लक्ष्य पूरा गर्न सफल हुने ठानेकी छु’, उनले भनिन्। आफूले मन्त्रालय र मन्त्रीको स्पिडसँग काम गर्दै विभागलाई त्यही अनुरुप अघि बढाउने स्पष्ट पारिन्।

पछिल्लो समय कोभिड–१९ को महामारीले सरसफाइको महत्व थप स्पष्ट पारेको बताउँदै श्रेष्ठले ‘वाटर सप्लाई र स्यानिटेसन’को क्षेत्रमा मुख्य रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताइन्। ‘कोभिड महामारीले पनि हामीलाई सरसफाई, पानीको उपयोग, ढल व्यवस्थापन जस्ता विषयमा महत्वपूर्ण सन्देश दिएको छ। यी क्षेत्रमा विभागले प्रभावकारी ढंगले काम गर्नुपर्छ र यसमा विभाग पूर्णरुपमा लाग्नेछ’, श्रेष्ठले भनिन्।

विभागले हाल गुणस्तर सुधार तथा सेवा नियमन, योजना अनुगमन तथा मूल्यांकन, आर्थिक प्रशासनका कार्यहरु गर्दै आएको छ। विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु, इलेक्ट्रोमेकानिकल तथा हाइड्रो जियोलोजिकल, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ, राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र, डिजाईन अनुसन्धान तथा उपयुक्त प्रविधि विकास शाखाहरु रहेका छन्। विभाग अन्तर्गत साना सहरी खानेपानी तथा सरसफाई, जलवायु अनुकुलित बृहत खानेपानी आयोजना, सहलगानी खानेपानी तथा सरसफाई  आयोजनाहरु सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .