समाज


अर्काकी श्रीमती भेट्न जंगल जाँदा श्रीमानले पक्रिए, अपहरण गरेर मागे ५० हजार फिरौती

अर्काकी श्रीमती भेट्न जंगल जाँदा श्रीमानले पक्रिए, अपहरण गरेर मागे ५० हजार फिरौती

उजिर कार्की
भदौ २६, २०७७ शुक्रबार ११:५०,

काभ्रेपलाञ्चोकमा युवक अपहरण गरी फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पाँचखाल नगरपालिका–१२ देवभूमिका २३ वर्षीय राजकुमार दनुवार बुधबार दिउँसो अपहरणमा परेका थिए।

धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाइस किलोबाट दनुवारको अपहरण गरी ५० हजार रुपैयाँ  फिरौती  माग गरेको अभियोगमा  प्रहरीले  तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काभ्रेको पाँचखाल नगरपालिका–१२, तीनघरे घर भई हाल धुलिखेल नगरपालिका–४, अठ्ठाईस किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थान घर भई हाल धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन्।

आकाश र सविनालाई बिहीबार तथा उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। राजकुमारलाई भने बुधबार बेलुका बुडोलबाट प्रहरीले सकुशल उद्धार गरेको थियो।

सविनाले फोन सम्पर्क गरी राजकुमारलाई भेटघाट गर्न बोलाएको र उनले नै जंगलतर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि पौडेलले जानकारी दिए।

सविना र उमाले धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलोमा दनुवारसँग भेट गरेकाे र भेटपछि सविनाले उनलाई जंगलतर्फ लिएर गएकी थिइन्।  जंगलको एकान्त स्थानमा  कुराकानी गरी बसिरहेको अवस्थामा सविनाका श्रीमान् आकाशलगायतका व्यक्ति पुगेर युवकलाई नियन्त्रणमा लिएको एसपी पाैडेलले जानकारी दिए।

‘भेटघट गर्ने भनेर फोन गरी बोलाएर योजनावद्ध रुपमा जंगलतर्फ लिएर गएको र त्यहीबाट उनलाई अपहरण गरी फिरौती मागेको देखिन्छ’, एसपी पौडेलले नेपालखबरसँग भने।

उनीहरुले नियन्त्रणमा लिएपछि आकाशसँग ५० हजार रुपैयाँ माग गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धकसम्बन्धी कसूरमा जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad