समाज


लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएस बालग्रामको संरक्षणमा

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएस बालग्रामको संरक्षणमा

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १५:२८,

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आजदेखि एस ओ एस बालग्राम काभ्रे पुगेका छन्। त्यहाँ उनीहरुको पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा सहित बस्नेछन्।

यससँगै अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ। यहि भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुगेका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताएका थिए।

सभामुखको आग्रहमा एस ओ एस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईं सहितको टोली भदौ १६ जिल्लाको बाँसखर्क पुगेर वडा अध्यक्ष लामासँग समन्वय गरी बालबालिकालाई एस ओ एस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो। सबै प्रक्रिया पुरा भएपछि आज सात बालबालिकालाई पनौती स्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिए।

पहिरोमा अभिभावक गुमाएका पाँच देखि बाह्र बर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एस ओ एस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिए। लामाका अनुसार बालग्राम पठाइएकाहरुमा छ जना बालक र एक बालिका छन्।

पहिरोबाट विस्थापित भएर जुगल गाउँपालिका वडा नं १ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयहरुबाट आवश्यक काजगपत्र तयार गरी कोरोना परीक्षण गरिएको थियो। सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एस ओस एस बालग्राम पनौतिका निर्देशक अमगाईं, विनोदमणी भट्टराई लगायतका टोलीसँग पठाइएको अध्यक्ष लामाले बताए।

गत साउन ३० गते विहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिका मध्ये १२ बर्ष माथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने एस ओ एस बालग्राम पनौतिका निर्देशक अमगाईले जानकारी दिए।

जुगल गाउँपालिका वडा नं २ को लिदी पहिरोले ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ। दुई जना अझै बेपत्ता छन्। पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ। विस्थापितहरुको स्थायी बसोबासका लागि पहल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad