समाज


विज्ञ भन्छन्ः एक महिनाभित्र उपत्यकाको अवस्था नियन्त्रण बाहिर जानसक्छ

विज्ञ भन्छन्ः एक महिनाभित्र उपत्यकाको अवस्था नियन्त्रण बाहिर जानसक्छ

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १५:४१,

कोभिड १९ संक्रमण नियन्त्रणमा प्रभावकारी काम हुन नसके एक महिना भित्र काठमाडौं उपत्यकाको स्थिति नियन्त्रण बाहिर जान सक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन्।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको शुक्रबारको बैठकमा उपस्थित विज्ञहरुले स्वास्थ्यकर्मीले अहिलेकै स्थितिमा काम गर्नुपरे एक महिना भित्रमा काठाडौंको उपत्यकामा कोभिड संक्रमण नियन्त्रण बाहिर जान सक्ने बताएका हुन्।

जनस्वास्थ्य विज्ञ कार्यकारी प्रमुख डा. महेश मास्केले चिकित्सक र नर्सहरुको जायज मागहरु पुरा गरी उत्प्रेरित गर्नुपर्नेमा सरकारले न्यूनतम स्वास्थ्य सामग्री समेत उपलब्ध नगरेर हेलचेक्रयाईं गरिरहेको बताए। न्यूनतम स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने सरकारले कोभिड नियन्त्रणमा छ भनेर कसरी भन्न सक्यो भन्दै प्रश्न समेत गरे। उनले यही गतिमा काम भइराख्ने हो भने अबको एक महिना भित्रमा काठमाडौं उपात्यकाको स्वास्थ्य स्थिति नियन्त्रण भन्दा बाहिर जाने बताए।

जनस्वास्थ्य विज्ञ प्रा. डा. सुजनबाबु मरहठ्ठाले स्वास्थ्य निकाय र स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने र मनोबल कसरी बढाउने भन्ने पक्षमा व्यवस्थापन गर्न नसके भयावह स्थिति आउनसक्ने बताए। समुदाय स्तरमा संक्रमण रोक्न नसकेको अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण फैलने स्थिति आए संकट आउन सक्ने उनले बताए।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्य संस्थाहरुमा नै कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि तयार भएको आधारभूत मापदण्डको पालना नभएको बताए। कतिपय अस्पतालमा बिरामी आउँदैनन् भन्दै पीसीआर परीक्षण नै नगरेको पनि उनले बताए।

यसबाहेक मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, दूरी कायम गर्ने, पीपीईको प्रयोग राम्रोसँग गर्ने लगायतका काम अझैपनि हुन नसकेको उनले बताए। सरकारले आवस्यक अनुगमन नगर्दा अस्पतालहरुले कोभिड रोकथामको मापदण्ड कार्यान्वयन नगरेको उनको भनाई छ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्साका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोभिडबाट त्रसित भई घरमा बस्ने र जडिबुटी खाएका नेपाली भन्दै बाहिर निस्कने प्रवृतिले समस्या आएको बताए। उनले परम्परागत रुपमा एन्टीभाइटिक औषधिको रुपमा प्रयोग हुँदै आएका जडिबुटी सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताए।

कोरोनासँगै जिउनको लागि के खाने भन्ने सम्बन्धमा अनुसन्धान हनुपर्ने पनि उनको भनाई छ। नेपालीहरुको भान्सामा प्रयोग हुने मसला तथा अन्य खाद्य जडिबुटी सम्बन्धमा पनि अनुसन्धान हुनुपर्ने आवस्यकता रहेको उपाध्यायले बताए।

पछिल्लो समय उपत्यका लगायतका विभिन्न जिल्लामा समुदाय स्तरमा संक्रमण फैलन थालेपछि स्थानीय जिल्ला प्रशासन कर्यालयबाट निषेधाज्ञा जारी हुँदै आएको छ। यस्तो अवस्थामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारबाहीको सम्बन्धमा आज शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित उपसमितिको बैठकमा छलफल भएको हो।

छलफलका क्रममा विज्ञहरुले अहिले अवलम्बन गरिएको रोकथामको विधिहरुले संक्रमणलाई नियन्त्रणमा राख्न नसक्ने भन्दै अझ प्रभावकारी रुपमा काम गर्न सुझाव दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad