ad ad

समाज


अवकाशको २ वर्षपछि काममा फर्केका सीताराम भन्छन्ः नगरप्रहरीको छवि सुधार्छु

अवकाशको २ वर्षपछि काममा फर्केका सीताराम भन्छन्ः नगरप्रहरीको छवि सुधार्छु

उजिर कार्की
भदौ १५, २०७७ सोमबार १४:२७,

‘जहाँ जाम, त्यहाँ सीताराम।’ यो भनाइ केही समयअघि राजधानीबासीको मुखैमा झुण्डिएको थियो।

ट्राफिक व्यवस्थापनमा माहिर यी प्रहरी अधिकारी सेवानिवृत्त भएको दुई वर्ष पुगिसकेको थियो। प्रहरी निरीक्षक सीताराम हाछेथूसँग जोसजाँगर बाँकी हुँदै सेवा हदले काम गर्न छेक्यो। २०७५ भदौमा उनी प्रहरी सेवाबाट बाहिरिए।

२९ वर्षे प्रहरी सेवाबाट बिदा लिँदै गर्दा उनले भनेका थिए, ‘कुनै न कुनै रुपमा समाजसेवामै रहन्छु।’

ट्राफिक व्यवस्थापनमा दरिलो छाप छाडेका सीतारामले यसै विषयमा विद्यालयमा कक्षा सञ्चालन गर्ने सोचेका थिए। काम सुरु गरिसकेका भने थिएनन्।

शुक्रबार अचानक उनलाई फोन आयो।

‘तपाईंसँग एउटा सल्लाह छ, आज महानगरपालिकामा आउनु पर्‍यो,’ ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उनलाई भने।

सीताराम महानगरपालिकाको कार्यालय पुगे।

‘तपाईंले मलाई महानगरको काममा सहयोग गर्नु पर्‍यो। मलाई तपाईंको दक्षता चाहियो,’ मेयर चिरिबाबुको प्रस्ताव थियो।

‘हुन्छ, म ट्राफिक व्यवस्थापनमा काम गर्न सक्छु,’ सीतारामले उही काम रोजे, जुन काममा उनको दखल थियो।

तर, मेयरले उनलाई त्यतिमै सिमित राख्न चाहेनन्।

‘होइन मैले ५० जना नगर प्रहरी ल्याएको छु, उनीहरु नयाँ छन्, मलाई राम्रो कमान्डर चाहियो,’ चिरिबाबुले भने, ‘पहिले यी प्रहरीलाई तालिम दिएर तयार गर्नु पर्‍यो, अनि बाहिर ठिक गर्न सकिन्छ।’

काम गर्ने हुटहुटी बाँकी हुँदै जागिरबाट बिदा भएका थिए सीताराम। तर, उनले सोचेभन्दा ठूलो जिम्मेवारी आइलाग्यो।

‘ओके सर, म गर्छु,’ भन्दै सीताराम त्यहाँबाट घर फर्किए।

आइतबार ललितपुर महानगरपालिकाले उनलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी थमायो।

ललितपुर महानगरपालिकामा ७२ जना नगर प्रहरी छन्। जसमध्ये तीन जना प्रहरी निरीक्षक, तीन जना नायब निरीक्षक, चार जना सहायक निरीक्षक छन्। बाँकी हवल्दार र जवान छन्।

ट्राफिक व्यवस्थापनदेखि फुटपाथ, बाटो बिस्तार, अतिक्रमण, नगरपालिकाका विकास निर्माणका कामदेखि प्राकृतिक विपत्तिसम्म नगरप्रहरीको भूमिका हुन्छ।

सोमबार बिहान सातै बजे सीताराम कार्यालय पुगे। प्रहरी निरीक्षकबाट बिदा भएका सीतारामले अब उही पदका तीन जनासँगै ७२ जनाको टोलीलाई नेतृत्व र परिचालन गर्नुपर्ने छ। अझ सिंगो ललितपुर नगर प्रहरीलाई प्रभावकारी बनाउनु छ।

नगर प्रहरीलाई हेर्ने नागरिकको नजर राम्रो छैन भन्ने उनलाई राम्ररी थाहा छ। ट्राफिक छँदा कमाएको इज्जतमा अब दाग लाग्ने हो कि भन्ने डर पनि छँदैछ। तथापि, नगर प्रहरीलाई सम्मानित बनाउने जिम्मेवारी उनले सम्हालेका छन्।

सामान्यतया मान्छेले नगर प्रहरीलाई सडकमा पार्किङ गरेका बाइक, गाडी उठाउने, फुटपाथ पसलेलाई लखेट्ने, तरकारी सडकमा पोख्ने युनिटका रुपमा मात्रै बुझेका छन्।

‘त्यो छाप हाम्रै कामले पारेको हो,’ सीताराम भन्छन्, ‘अब त्यो खराब इमेज हटाउँछु र हाम्रो प्रहरी हो भन्ने महसुस गराउँछु।’

यसका लागि उनले केही योजना पनि बनाइसकेका छन्। धेरै त उनी यहाँका समस्यासँग भुक्तभोगी नै छन्। चार वर्ष ललितपुरको ट्राफिक इन्चार्जका रुपमा उनले काम गरेका थिए।

‘पहिले हामी आफ्नै व्यवहार सुधार्छौं। हामी राम्रो भए मात्रै अरुले राम्रो मान्छन्। अब नगरप्रहरीले कसैलाई पनि तिमी भन्दैन। हिजोका दिनमा मादक पदार्थ सेवन गरेको मान्छेलाई नमस्कार हजुर भनेकै हो। फुटपाथमा तरकारी, फलफूल, कपडा व्यापार गर्नेलाई तपाईं भन्न किन नहुने?’ सीताराम प्रस्न गर्छन्, ‘किन लखेट्नु? भोलिदेखि यस्तो काम नगर्नु होला भन्ने हो, सम्झाउने हो। सुध्रिन समय दिने हो।’

जहाँ जहाँ फुटपाथ राख्छन्, त्यहाँ सीसी क्यामेरा राख्ने योजना उनले सुनाए। फुटपाथबाट गरिबका सामान फाल्ने नभएर राख्नै नदिने विकल्पमा नगर प्रहरीले काम गर्ने सीतारामले बताए।

‘एक मुठो साग बेच्ने, एक पोको लुगा बेच्नेसँग किन झगडा गर्नु?’ सीताराम भन्छन्, ‘उनीहरुलाई फुटपाथमा राखेर भाडा लिनेलाई पो कारबाही गर्ने हो त।’

गल्ती गर्नेलाई नछोड्ने गल्ती नगर्नेलाई नछुने नीति लिएको बताउँछन् उनी।

‘म जतिदिन रहन्छु त्यतिदिन राम्रो काम गर्छु। काम गर्ने मान्छेको समय हिसाब हुँदैन, कामको नतिजाको हिसाब हुन्छ,’ महानगरले एक वर्षका लागि नियुक्त गरेका सीताराम भन्छन्।

उनको यो भनाइले सार्थकता पनि पहिलो दिनबाटै पाउन थालेको छ। सोमबार सातै बजे कार्यालय पुगे। ललितपुरका विभिन्न ठाउँ घुमे र मन्त्री क्वार्टर अगाडिबाट कामको सुरुवात गरे।

सोमबार नगरप्रहरीले हरिहर भवनअगाडि अनुमतिबिना टाँगिएका बोर्ड हटाएको छ। सीताराम टोली लिएर आफैं फिल्डमा पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .