ad ad

समाज


बढ्दो मृत्युले खतराको घण्टी बजायो, घरमै आइसोलेसन बस्नु जोखिमपूर्ण: विज्ञ

बढ्दो मृत्युले खतराको घण्टी बजायो, घरमै आइसोलेसन बस्नु जोखिमपूर्ण: विज्ञ

सागर न्यौपाने
भदौ १४, २०७७ आइतबार १३:५२,

नेपालमा अन्य कुनै रोग नलागेका कोरोना संक्रमितको ज्यान जाने क्रम बढ्न थालेको छ।

आइसोलेसन र अस्पतालमा बेडको अभाव हुँदै गएकाले कोरोनाको कारण ज्यान जानेको संख्या बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन्। कुनै रोग नलागेका र कम उमेरका व्यक्तिको मृत्यु हुन थालेपछि खतराको घण्टी बजिसकेको उनीहरुले बताएका छन्।

नेपालमा अघिल्लो शनिबारदेखि आज आइतबारसम्म ९ दिनमा ८४ जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये १५ जनाभन्दा बढीमा अन्य रोग नरहेको र कोरोनाले जटिलता उत्पन्न भई मृत्यु भएको डाक्टरहरु बताउँछन्।

भदौ ६ गते ९ जनाको मृत्यु भएको थियो। यस्तै ७ गते ३ जना, ८ गते ८ जना, ९ गते ७ जना, १० गते ११ जना, ११ गते ८ जना, १२ गते १२ जना, १३ गते १२ जना र आज १४ गते १४ जना गरी ८४ जनाको मृत्यु भएको हो।

शनिबार पाटन अस्पतालमा ज्यान गुमाएका काठमाडौंकी ५१ वर्षीया महिला, भक्तपुरकी ६२ वर्षीया महिला र २९ वर्षका पुरुषमा अरु कुनै रोग थिएन।

स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले मृत्यु भएका सबैमा अन्य रोग रहेको बताइरहेका बेला पाटन अस्पतालमा भएको दुई महिलाको मृत्युले खतराको घन्टी बजाएको र झस्किने बेला आएको त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए।

‘मृत्यु संख्या दैनिक बढिरहेको छ, कोरोना समुदायमा फैलिसकेको छ,’ डा.दासले नेपालखबरसँग भने, ‘पछिल्ला मृत्युहरु हेर्दा अन्य रोग नै नभएका व्यक्तिहरु परेका छन्, यो भनेको राम्रो संकेत होइन, यसले खतराको घन्टी बजायो।’

कोरोनाको कारण संक्रमण भएर मृत्यु हुने कुरा सामान्य भएपनि कम उमेरका र दीर्घ रोग नभएकाकै मृत्यु हुनुले थप जोखिम बढाउने बताउँछन् वीर अस्पतालका चेस्ट क्लिनिक प्रमुख डा. अशेष ढुङ्गाना।

उनले आईसीयू र अस्पताल बेडको अभाव रहेकाले घरमै आइसोलेसनमा बसेका संक्रमितहरु बढी जोखिममा रहेको बताए।

एक महिनायता लक्षणसहितका कडा खालको संक्रमित फेला पर्ने क्रम बढेको डाक्टरहरुको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमणको कारणले मात्रै पनि नेपालमा केहीको ज्यान गएको स्वीकार गरे।

‘कोरोना संक्रमणले मात्र पनि नेपालीहरुको मृत्यु भएको छ, त्यसैकारण हामीले यो रोग लाग्न नदिन होसियारी अपनाउन सबैलाई आग्रह गरेका हौं,’ प्रा.डा. गौतमले भने।

नेपालमा हालसम्म कोरोनाबाट २ सय २१ जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये अधिकांसमा कुनै न कुनै अन्य जटिल रोगको संक्रमण रहेको विज्ञहरुले बताउँदै आएका छन्। पछिल्ला केही व्यक्तिहरुको मृत्युले भने गम्भीर भएर कदम चाल्न ढिलाइ गर्न नहुने विज्ञहरुले सुझाव दिएका छन्।

DrDas

खतराको घण्टी बजिसकेको छः डा. सन्तकुमार दास, छाती रोग विशेषज्ञ र कोभिड व्यवस्थापन समिति संयोजक, शिक्षण अस्पताल
मृत्युसंख्या बढ्नुको कारण हो, कोरोना भाइरस समुदायमा गइसकेको छ। समाजमा विभिन्न किसिमका मानिस हुन्छन्। दीर्घ रोगी, उमेर पाकेका। ती मानिसको रोग प्रतिरोधी क्षमता कम हुन्छ। कोरोना संक्रमण भएपछि उनीहरुको शरीरले लड्न सक्तैन। त्यसले गर्दा मृत्यु बढेको हो।

तर, दीर्घ रोग नभएको, रोग प्रतिरोधी क्षमता राम्रो भएको, उमेर पनि नढल्केको मानिसको पछिल्लो चरण भइरहेको मृत्युको विषयलाई विश्लेषण गर्नुपर्ने देखिन्छ। कोरोना हुनुभन्दा अगाडिको त्यस्ता व्यक्तिको शारीरिक अवस्थाबारे अध्ययन गर्नैपर्छ।

एक महिनामा टिचिङ अस्पतालमा कोरोनाबाट जम्मा २ जनाको मृत्यु भयो। त्यसमा एकजना मुटु र मिर्गौलाको बिरामी हुनुहुन्थ्यो भने अर्को कुनै रोग नभएका शिक्षक हुनुहुन्थ्यो। उहाँमा निमोनिया भएर मृत्यु भयो। यो केसलाई शतप्रतिशत कोरोनाकै कारण मृत्यु भएको भन्न मिल्यो।

अरु रोग नभएका व्यक्तिको कोरोनाको कारण मृत्यु हुनु राम्रो संकेत होइन। किनभने, पाटनमा ५१ वर्ष, ६२ वर्षका व्यक्तिको मृत्यु भएको छ। यो भनेको धेरै उमेर होइन। हिजो (शनिबार) पनि २९ वर्षका युवाको मृत्यु भएको छ।

अन्य लक्षण नभएका व्यक्तिको फटाफट भएको मृत्युले राम्रो संकेत गरेको छैन। यसले पछि हामीलाई धेरै अप्ठेरो पार्न सक्ने देखिन्छ। किनभने कम उमेरका मानिस मर्नु भनेको सीधै कोरोनाबाट भएको मृत्यु भनेर बुझिन्छ। त्यसले कोरोना समुदायमा फैलियो भने उपचार गर्न नसक्नेगरी अवस्था बिग्रिन सक्छ भन्ने खतरालाई संकेत गर्छ।

पछिल्ला दिन बढिरहेको मृत्युको तथ्यांकलाई विश्लेषण गरेर अब नयाँ रणनीति बनाउनुपर्ने देखिन्छ। केही दिनयताका केसहरु हेर्दा खतराको घन्टी बजेको छ। संख्याले मात्र त खतराको घन्टी बजेको होइन, किनभने परीक्षण बढी भएपछि केस देखिन्छ। तर, अस्पतालमा भर्ना हुनुपर्ने केस र मृतक संख्या जसरी बढिरहेको छ, त्यो खतराको घण्टी हो।

DrDhungana

संक्रमितलाई सकेसम्म अस्पतालमै राख्नुपर्छः डा. अशेष ढुङ्गाना, चेस्ट क्लिनिक प्रमुख, वीर अस्पताल
सुरुवाती तीन महिनाको तथ्यांक हेर्दा माइल्ड, लक्षण नभएका मात्र केस देखिएको थियो। तर, पछिल्लो एक महिनादेखि लक्षण भएका केस पनि धेरै देखिन थालेका छन्। त्यही अनुसार केही समययता मृतक संख्या चार गुणाले बढेको छ।

यो आँकडाले हामीलाई सचेत र सतर्क रहन चेतावनी दिएको छ। किनभने केस बढ्ने, अस्पतालमा पोजिटिभ केसले बेड नपाउने, कोभिड बिरामीले पनि कोभिड अस्पतालमा बेड नपाउने हुनसक्छ।

कोभिड बिरामीको उपचार त हुँदैन तर हामीले सपोर्टिभ उपचार गर्छौँ। डाक्टरको निगरानीमा ब्लड प्रेसर, अक्सिजनको व्यवस्थापन गर्छौँ।

अस्पतालमा, आईसीयूमा लक्षणसहितका संक्रमितको लोड बढ्यो, धेरै बिरामी भेन्टिलेटरमा भए भने मृत्युदर पनि त्यही अनुसार बढ्छ।

पछिल्ला दिन अन्यरोग नभएका मानिसको मृत्यु हुन थालेको देखिएको छ। हामीले दीर्घरोगी, दम, मुटु, मिर्गौला, श्वासप्रश्वासको रोग भएका बिरामी र उमेर बढी भएका बिरामीको मृत्यु हुने सम्भावना उच्च हुन्छ भन्दै आएका छौं। तर, युवा समूह, अरु रोग नलागेको मानिसको मृत्यु नै नहुने भन्ने होइन। विश्वभरको तथ्यांक हेर्दा अरु समस्या नभएका र कम उमेर समूहका मानिसमा मृत्युदर कम छ।

पछिल्ला दिनमा कम उमेरका तथा अन्य रोग नभएका व्यक्तिको दिनदिनै मृत्यु हुन थालेको छ। यसले हामीलाई झक्झकाएको छ। किनभने हामीकहाँ आईसीयू र अस्पतालका बेडहरुको निकै अभाव छ। अहिले काठमाडौं उपत्यकाका अस्पतालमा बेड नभएकोले धेरै बिरामी घरमै आइसोलेसनमा बस्नुपर्ने भएको छ।

कसलाई बढी जोखिम भन्ने कुरा बिरामीलाई मनिटर गर्दा मात्र थाहा हुन्छ। अक्सिजन कम हुने, श्वासप्रश्वासको समस्या हुन थालेपछि बिरामीको अवस्था एकदमै छिटो बिग्रिन्छ। त्यस्ता बिरामीलाई भर्ना गरेर हामीले मनिटर गर्न सक्यौं भने केही मृत्यु रोक्न सक्छौं।

जति बिरामीलाई अस्पतालबाहिर राखेर उपचार गरिन्छ, गम्भीर अवस्था उत्पन्न हुने सम्भवाना त्यति नै बढी हुन्छ। संक्रमणको शंका भएका र गम्भीर अवस्थाका सबै बिरामीलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार हुने व्यवस्था हुनुपर्छ। ताकि बिरामीको उपचार सुरु होस् र पीसीआर रिपोर्ट आएपछि पनि व्यवस्थापन गर्न समस्या नहोस्। रिपोर्ट पोजिटिभ आए त्यही अस्पतालमा सुरक्षित रुपमा राख्न पाइयो, नेगेटिभ आए घर पठाउन मिल्यो।

तर, धेरैजसो अस्पतालमा आइसोलेसन बेडको अभाव छ। आइसोलेसन छुट्याएर राख्न सक्ने अवस्था कम छ। आइसोलेसन आईसीयू भन्ने अवधारणा नै योभन्दा पहिला थिएन। त्यसैले कोभिड नभएका बिरामीहरु पनि अहिले अस्पताल अस्पताल चहार्न बाध्य छन्। कहिले आइसोलेसन बेड त कहिले आईसीयूको अभावमा उनीहरुको ज्यान गइरहेको छ।

अस्पताल चहार्दाचहार्दै हुने मृत्युलाई कम गर्न सबै अस्पतालले कोभिड संक्रमण लक्षण भएकालाई छुट्टै आइसोलेसनमा राखेर उपचार सुरु गर्नुपर्छ। तत्काल नमुना पठाइहाल्ने र त्यसको रिपोर्ट २४ घण्टाभित्र उपलब्ध हुने व्यवस्था गर्ने र त्यसपछि पोजिटिभजतिलाई एकैठाउँमा र नेगेटिभलाई छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने देखिन्छ।

वीर अस्पतालका ४०, ५० जना कर्मचारीलाई नै कोरोना देखिएको छ। अहिले अस्पतालले आफ्नै कर्मचारीलाई बेड दिन नसक्ने अवस्था आएको छ। कोही घरमै आइसोलेसनमा बस्नुभएको छ भनेपनि बेलाबेलामा आफ्नो अक्सिजनको मात्रा नाप्ने, ब्लड प्रेसर, ज्वरो नाप्ने, स्वस्थकर खाना खाने गर्नुपर्छ।

एकदमै होसियारीसाथ आफ्नो ख्याल गर्नुपर्‍यो। अप्ठेरो भएको अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा गएर भर्ना भएर उपचार गराउनुपर्छ।

कोभिड भएर घरमै आइसोलेसनमा बसेकाहरुलाई विशेष निगरानी गर्नुपर्छ। किनभने धेरैजसोलाई संक्रमण भएको ७ देखि १० दिनमा अक्सिजन कमी र श्वासप्रश्वासमा समस्या आउने गरेको छ। पहिलो ७ देखि १० दिन निकै सतर्क भएर आफूलाई ध्यान दिनुपर्ने समय हो। यदि श्वासप्रश्वासमा समस्या आयो भने अस्पताल गएर भर्ना भएरै उपचार गर्नुपर्ने हुन्छ। कोरोनाले सबैभन्दा छिटो बिगार्ने फोक्सोलाई हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .