देशभरी कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप भएका छन्। केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ बेड थप भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
यस्तै विभिन्न ६ सय ४९ पालिकामा ३ हजार २ सय ४५ वटा बेड थप भएका छन्। अस्पतालहरु नभएका प्रत्येक पालिकामा ५ वटा बेड थप भएका हुन्। हरेक अस्पतालमा जनशक्ति सहित बेड थप भएका हुन्।
यस्तै गरी सरकारले थप ३ वटा अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरेको छ। वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो। नेपालमा प्लाज्मा थेरापी विधिबाट २० भन्दा बढीको सफल उपचार भएको उनले बताए। देशका विभिन्न अस्पतालमा ४२ जनाले प्लाज्मा दान गरेका छन्।
Shares

प्रतिक्रिया