समाज


कोरोनाका कारण नेपालमा दुई तिहाइ बालबालिका दूर शिक्षाबाट वञ्चित, विश्वभर एक तिहाइ

कोरोनाका कारण नेपालमा दुई तिहाइ बालबालिका दूर शिक्षाबाट वञ्चित, विश्वभर एक तिहाइ

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ९:३,

बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले कोभिड–१९ का कारणले विद्यालयहरू बन्द हुँदा नेपालमा विद्यालय जानेमध्ये दुई-तिहाइ बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित भएको जनाएको छ।

बालबालिका तथा परिवारमाथिको कोरोनाको प्रभावसम्बन्धी युनिसेफले हालै सम्पन्न गरेको अध्ययनमा सो अवस्था देखिएको हो।

‘१० मध्ये ३ बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाईका माध्यमहरूमा पहुँच रहेको छ र तीमध्ये पनि ८० प्रतिशतले मात्रै दूर शिक्षाका माध्यमहरूलाई आफ्नो सिकाई कार्यहरूका लागि उपयोग गरिरहेका छन्,’ शुक्रबार न्युयोर्क र काठमाडौंबाट प्रकाशित युनिसेफको सो प्रतिवेदनले भनेको छ।

युनिसेफका अनुसार कोरोना संकटका कारण विश्वव्यापीरुपमा एक तिहाइ विद्यार्थी शिक्षाबाट वञ्चित हुँदा नेपालमा भने दुई-तिहाइ विद्यार्थी शिक्षाको पहुँचबाट वञ्चित हुन पुगेकाे औँल्याएको हो।

कोरोनाका कारण विश्वमा एक तिहाइ अर्थात् ४६ करोड ३० लाख बालबालिका दूर शिक्षाको पहुँचबाट वञ्चित भएको युनिसेफद्वारा आज सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘कोभिड–१९ को कारणले विद्यालय जानबाट वञ्चित भएका कम्तीमा पनि ४६ करोड ३० लाख बालबालिकाका लागि दूर शिक्षामा पनि पहुँच थिएन,’ युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले बताएकी छन्, ‘महिनौसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाईमा पूर्ण अवरोध हुनु विश्वव्यापी शैक्षिक आपतकाल हो। यसको असर आगामी केहि दशकसम्मै अर्थतन्त्र तथा समाजमा महसुस हुनेछ।’

विभिन्न देशहरूमा भएका देशव्यापी र स्थानीय बन्दाबन्दीको समयमा विद्यालयहरू बन्द हुँदा झण्डै डेढ अर्ब बालबालिका प्रभावित हुन पुगेको सो प्रतिवेदनमा उल्लेख छ।

दूर शिक्षामा पहुँचयोग्यता प्रतिवेदनले १०० वटा विभिन्न देशहरूमा पुर्व–प्राथमिक, प्राथमिक, निम्न–माध्यमिक तथा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका माझ दूरशिक्षाको लागि आवश्यक घरमा आधारित प्रविधि तथा साधनहरूको उपलब्धताको विश्वव्यापी प्रतिनिधिमूलक विश्लेषणको प्रयोग गरेर सो निष्कर्ष निकालेको उल्लेख छ।

‘उक्त तथ्यांकमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच तथा विद्यालय बन्द भएको समयमा यी माध्यमबाट उपलब्ध गराइएका पाठ्यक्रमको उपलब्धता पनि समावेश छ,’ युनिसेफले भनेको छ।

यस प्रतिवेदनले उजागर गरेका तथ्यांकले विद्यालय बन्द रहेको समयमा दूरशिक्षाको अभाव सम्बन्धमा चासोमूलक अवस्थाको चित्रण गरेको भएता पनि अवस्था अझै चिन्ताजनक रहेको कुरामा युनिसेफले जोड दिएको छ।

घरमा प्रविधि र साधनहरू उपलब्ध भएपनि घरको काम गर्नुपर्ने दबाब, जबर्जस्ती काममा लगाइनु, सिक्नको लागि उपयुक्त वातावरणको अभाव र अनलाइनमा रहेको वा टेलिभिजन र रेडियोमा प्रशारित पाठ्यक्रमको प्रयोग गर्न मद्दत गर्ने व्यक्तिको अभाव आदि कारणले गर्दा बालबालिकाले दूरशिक्षाका यी माध्यमबाट प्रभावकारी रूपमा सिकाई हासिल गर्न असमर्थ हुनसक्ने सो प्रतिवेदनमा उल्लेख छ।

हालको संकटमा सब साहारा अफ्रिका क्षेत्रका विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा बढी प्रभावित रहेका र त्यहाँ कूल विद्यार्थीहरू मध्ये आधाको दूर शिक्षामा पहुँच नभएको युनिसेफको अध्ययनले देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad