ad ad

समाज


कोरोना संक्रमणपछि आइसोलेसनबाटै भरतपुर अस्पताल हाँक्दै डाक्टर तिवारी

कोरोना संक्रमणपछि आइसोलेसनबाटै भरतपुर अस्पताल हाँक्दै डाक्टर तिवारी

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १२:१९,

सके र भएसम्म कोरोना रोगको उपचारको जिम्मेवारीबाट निजी क्षेत्र पन्छिन चाहिरहेका छन्।

देशैभर सरकारी स्वास्थ्य संस्थाले कोरोना रोगको उपचारमा नेतृत्व गरिरहेका छन्। यस्तै नेतृत्व गर्दै आइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले दुई सातादेखि आफै कोरोना संक्रमणसँग लड्दै अस्पताल हाँकी रहेका छन्।

१२ दिनअघि अस्पतालमै खटिरहँदा उनमा कोरोना संक्रमण पुष्टि भयो। स्वाब दिएको तीन दिनमा नतिजा आउँदै गर्दा त्यसबीचमा गरिएका अस्पतालका बैठकमा सहभगी, दैनिक अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबै त्रसित भएका थिए। तिवारीमा पनि लक्षण देखिएको थियो।

राति घरमै भएका बेला संक्रमण देखिएपछि भोलिपल्ट सबेरै अस्पतालमै आएर आइसोलेसनमा बसेर उनले उपचार गर्न शुरु गरे। उनले भने, ‘चार दिनसम्म त मलाई गाह्रो भयो, त्यसपछि फोनबाट काम गर्न थालें।’ शुरुका दिनमा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाँगर नचल्ने, खाने कुरामा स्वाद थाहा नपाउनेजस्ता समस्या उनमा देखिएको थियो।

तिवारीमा संक्रमण देखिएलगत्तै निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. जगन्नाथ तिवरीलाई दिइएको छ। कोभिड व्यवस्थापनका लागि डा. प्रमोद पौडेलको संयोजकत्वमा कोभिड क्लिनिकल टिम परिचालन भइरहेको छ। अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी पनि नियमित अस्पतालमा खटिरहेका छन्। कामको उच्च चापका कारण तिवारी अइसोलेसनबाटै टेलिफोन गरेर अधिकांश काममा जुटिरहेका छन्।

तिवारीले भने, ‘अध्यक्ष ज्यूदेखि मन्त्रालयसम्म समन्वय गर्ने काम फोनबाटै गरिरहेको छु।’ जसले जे जिम्मेवारी पाए पनि अन्तिम निचोड लिँदा प्रमुखसँग समन्वय गर्ने गर्दछन्। सामान्यदेखि ठूला समस्या सुरुमा आफूमै आएर ठोक्किने हुँदा काम गर्दिनँ भनेर सुख पाउने ठाउँ पनि नहुने उनको भनाइ छ। आइसोलेसनमै रहेका तिवारीले टेलिफोनमा भने, ‘मन्त्रालयले हामीलाई पाँच थान भेन्टिलेटर खरिदको सुनिश्चित गरेको छ।’ भेन्टिलेटर थपिदैं गर्दा उपचारमा सहज हुने भन्दै उनले खुशी प्रकट गरे।

हाल अस्पतलको १० शय्याको कोभिड सघन उपचार कक्षमा दुई वटा र २० शय्याको साधारण सघन उपचार कक्षमा चारवटा मात्र भेन्टिलेटर छन्। तिवारीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले टेलिफोन गरी स्वास्थ्य लाभको कामनासँगै संकटमा जुट्ने स्वास्थ्यकर्मीको मुल्यांकन राज्यले गर्ने बताएको भन्दै उनले खुशी प्रकट गरे। भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी गरि १५ जनालाई संक्रमण देखिएको छ।

तिवारी अघिल्लो वर्षको असार अन्तिमसाता यहाँ प्रमुख भएर आएका हुन। गएको चैत महिनाबाट उनी निरन्तर कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिँदै आएका छन्। उनले भने, ‘अहिले पनि मेरो ध्यान कसरी आम सर्वसाधारणलाई उपचार दिने भन्नेमै केन्द्रित छ।’ पछिल्ला दिनमा कोरोना भएका र नभएकालाई कसरी सुरक्षित उपचार गर्ने भन्नेमा आफूहरु लागि परेको तिवारी बताउछन्।

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्। परोपकार प्रसूति गृहपछि सबैभन्दा धेरै प्रसूति गराउने यस अस्पतालले भरतपुर कोभिड–१९ प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ। अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले प्रमुख तिवारी आइसोलेसनमा रहँदा पनि समन्वय गरेरै काम गरिरहेको बताए। सबैको समन्वय र सहयोगले अस्पताल सहजरुपमा अघि बढेको उनको भनाइ छ।

यही मंगलबार पुनः परीक्षण गर्दा तिवारीमा संक्रमण कायमै छ।

भरतपुर अस्पतालमा वार्षिक चार लाख भन्दाबढी बिरामीले सेवा लिन्छन्। अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी सात सय हाराहारी कार्यरत छन्। अस्पतालक सूचना अधिकारी लिलाधर पौडेल देशकै महत्वपूर्ण अस्पताल भएकाले यसको व्यवस्थापन आफैमा चुनौतिपूर्ण रहेको बताउछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .