युवाहरुको पहलमा पोखरामा ‘फुड बैंक’को सुरुवात गरिएको छ।
बुधबार पोखराको पृथ्वीचोकस्थित गणतान्त्रिक चोकनजिकै रहेको सुकुम्वासी बस्तीका बासिन्दालाई लक्षित गरी पोखरामा फुड बैंकको स्थापना गरिएको हो।
कोरोना भाइरसको महामारी रोकथामका लागि जारी निषेधाज्ञाको अवधिमा दैनिक ज्यालादारी मजदुरी गरेर हातमुख जोर्ने वर्ग निकै प्रभावित भएपछि उनीहरुलाई केही मात्रामा राहत मिलोस भनेर मोबाइल फुड बैंक (सेन्टर)को स्थापना गरिएको तत्कालिन अखिल क्रान्तिकारीका सचिव तथा अनेरास्ववियुका केन्द्रीय नेता क्षितिज सापकोटाले जानकारी दिए।

सापकोटाको समन्वय र सहिद बेपत्ता स्मृति स्र्पोटस् स्कुलको सहकार्यमा स्थापना गरिएको फुड सेन्टरबाट खाद्यान्न अभाव भएकाहरुले आवश्यक सामग्री लिएर जाने तथा हुनेहरुले सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ।
‘छ भने दिएर, छैन भने लगेर सहयोग गरौँ’ भन्ने मूलनाराका साथ स्थापना गरिएको फुड बैंकबाट आवश्यक नून, तेल, चामल, लगायतका खाद्य सामग्री लैजान सकिने व्यवस्था गरिएको सापकोटाले बताए।
उनले तत्कालका लागि केही साथीहरु रकम जम्मा गरी खद्य सामग्री किनेर सुरुवात गरेको मोबाइल फुड बैंकलाई एक हप्ताभित्र पोखराका मुख्य–मुख्य चोकमा सञ्चालन गर्ने योजना सुनाए।

‘लकडाउनका कारण दैनिक ज्यालादारी गरेर छाक टार्नेहरु समस्यामा परेको देखेपछि हामीले सानो खाद्य बैंकको सुरुवात गरेका छौँ’, नेपालखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘सहयोग जुटयो भने पोखराभरि सञ्चालन गर्ने योजना बनाएका छौँ।’ उनले यसबाट ज्याला मजदुरी गरेर छाक टार्ने वर्गले केही मात्रामा भए पनि राहत पाउने बताए।
नेता सापकोटाले सहयोगी महानुभावहरुलाई खाद्य बैंकलाई सहयोग गरी यो अभियानलाई सघाउन आग्रह समेत गरे।

प्रतिक्रिया