समाज


म्याग्दीमा उच्च ज्वरो आएका ४ जनामा डेंगु र स्क्रबटाइफस

म्याग्दीमा उच्च ज्वरो आएका ४ जनामा डेंगु र स्क्रबटाइफस

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ३:४५,

म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन्।

उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस संक्रमण पुष्टि भएको हो।

बेनी नगरपालिका-४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका-५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका ३३ वर्षका पुरुषमा डेङ्गु र स्क्रबटाइफस देखिउको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी ३३ वर्षीया महिलामा भने डेङ्गु मात्र देखिएको छ। उनीहरु गाउँमै खेती किसानी र व्यापार व्यवसाय गर्ने व्यक्ति हुन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यस वर्ष ३७ जना डेङ्गु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन्।

गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ।

नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो । पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने एवं हाडजोर्नी तथा मांसपेशी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन्।

टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रम, घर, कौसीको गमला, फूलदानी, एयर कण्डिसन, कुलर र पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ।

डेङ्गु र स्क्रबटाइफसका केही लक्षण मिल्दोजुल्दो हुन्छ । स्वास्थ्य कार्यालय र स्थानीय तहले डेङ्गुको बासस्थान नष्ट गर्नाका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad