ad ad

समाज


बुटवलमा मलामी गएका एकपछि अर्काेमा कोरोना देखिन थालेपछि तनाव, १५ जनामा पुष्टि भइसक्यो

बुटवलमा मलामी गएका एकपछि अर्काेमा कोरोना देखिन थालेपछि तनाव, १५ जनामा पुष्टि भइसक्यो

नेपालखबर
भदौ ६, २०७७ शनिबार ५:१७,

रूपन्देहीको बुटवलमा एक महिलाको दाहसंस्कारमा सहभागी एकपछि अर्काेलाई कोरोना संक्रमण पुष्टि हुन थालेपछि तनाव भएको छ।

क्यान्सरका कारण मृत्यु भएकी बुटवल उपमहानगरपालिका-११, कालिकानगरकी ४९ वर्षीया महिलाको परिवारलगायत उनको मलामी गएका समेत अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

‘अझै परीक्षण जारी छ,’ बुटवल उपमहानगरपालिकाकी स्वास्थ्य उपसंयोजक गीता पाण्डेले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘आज थप ५ मलामीको स्वाब परीक्षण गर्दैछौं, यसपछि अन्यको पनि क्रमशः गर्ने योजना छ।’

मलामी कति गएका थिए भन्ने एकिन संख्या त आफूलाई थाहा नभएको तर सयभन्दा बढी नै थिए भन्ने कुरा सुनिएको उनले बताइन्।

यस्तो छ घटना
चितवनको भरतपुर अस्पतालमा क्यान्सरको किमोथेरापी गर्ने क्रममा गत साउन १८ गते ती महिलाको मृत्यु भएको थियो। उनका आफन्तले कोरोनाको शंका गरेर जिज्ञासा राखेका भए पनि अस्पतालका चिकित्सकले किमोथेरापीका क्रममा हृदयाघातले मृत्यु भएको भन्दै कोरोना परीक्षण नगरी शव पठाइदिए।

त्यसपछि कोरोना संक्रमितको दाहसंस्कारमा जस्तो सतर्कता अपनाउने कुरै भएन। सामान्य अवस्थामा जस्तै परिवार, आफन्त, छिमेकी सबै अन्त्येष्टिमा सहभागी भए।

तर ती महिलाको दाहसंस्कारमा सहभागी उनको देवरलाई त्यसको केही दिनपछि नै कोरोनाका जस्तै लक्षण देखिन थाले। नभन्दै पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनमा कोरोना पुष्टि भयो।

‘त्यसपछि त्यो समूहमा संलग्नको परीक्षण गर्दै जाँदा अहिलेसम्म १५ जनामा कोरोना पुष्टि भइसकेको छ,’ उपमहानगरपालिका स्वास्थ्य उपसंयोजक पाण्डेले भनिन्, ‘तर कोरोना कोबाट फैलियो भन्न सकिने स्थिति छैन।’

ती मृतक महिलाको परीक्षण नै नगरिएकाले उनलाई थियो कि थिएन, अन्योल भएको हो। तर उनकै दाहसंस्कारमा सहभागी सुरुमा देवर र त्यसपछि क्रमशः परिवारका अन्य सदस्यसहित आफन्त, छिमेकीलाई कोरोना पुष्टि भएकाे हाे। 

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले पनि अहिले बुटवल क्षेत्रमा तिनै महिलासँग सम्बन्धित समूहमा बढी मात्रामा कोरोना पुष्टि भइरहेको जानकारी दिइन्।

‘मृतकका छोरी, ज्वाइँमा पनि कोरोना देखिएको छ,’ नेपालखबरसँग उनले भनिन्, ‘मृतकको वडा ११ र उनका देवर (संक्रमण पुष्टि भएका) को वडा १३ मै अहिले बढी मात्रामा कोरोना पुष्टि हुने क्रम चलिरहेको छ।’

‘सुरुमा कोरोना मृतक महिला वा उनको देवर कसबाट फैलियो भन्ने पुष्टि त विज्ञालने गर्ने कुरा हो,’ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नेपालखबरसँग भने, ‘तर ती महिलाको काजकिरिया गराउने पण्डितमा समेत कोरोना पुष्टि भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .