समाज


अहिलेसम्म सेनाका २८४ जना संक्रमित, ब्यारेकभित्रै आइसोलेसन

अहिलेसम्म सेनाका २८४ जना संक्रमित, ब्यारेकभित्रै आइसोलेसन

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार १४:४७,

कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ। नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

कोभिड–१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा छन्। धनुषामा गत जेठ १३ गते पहिलो पटक सेनाका दुई जनामा कोभिड–१९ संक्रमण देखिएको थियो। पछिल्लो समय नेपालगन्जस्थित तालीम केन्द्रमा एकै पटक २५ जनामा उक्त संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए।

उनले भने, ‘मुलुकमा कोभिड–१९ को संक्रमण बढ्न गई आइसोलेशनको अभाव हुने अवस्था देखेर सैनिक जनशक्तिका लागि ब्यारेकभित्रै आइसोलेसन बनाएर कार्यान्वयनमा ल्याउने कार्यको शुरुआत भइसकेको छ।’

केही सैनिक जनशक्ति कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्नेलगायत कार्यमा अग्रपङ्क्तिमा खटिँदै आएका छन्। सेनाले खास गरी दैनिक गस्ती, क्वारेन्टिन, आइसोलेशन, होल्डिङ एरिया सुरक्षा, उडान समन्वय, हेल्थ डेस्क, राहत वितरण, शव व्यवस्थापन र ठूलो सङ्ख्यामा मेडिकल जनशक्ति खटाएको छ।

कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकामध्ये सेनाको व्यवस्थापनमा १२६ जनाको अन्त्येष्टि भइसकेको छ। कोभिड–१९ रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सेनाका २० हजार १९५ जनशक्ति खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त जनशक्तिमध्ये करीब आठ हजार अहिले अग्रमोर्चामा रहेर काम गरिरहेका छन्।

मुलुकमा कोभिड–१९ संक्रमण बढेसँगै पछिल्लो सात दिनमा १९ जनाको मृत्यु भएको छ। नेपालमा करीब ३० हजार संक्रमितमध्ये करीब १८ हजार निको भएर घर फर्केका छन् भने १२ हजार सक्रिय संक्रमित रहेको र तिनमा केही घरमै आइसोलेशनमा बसेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .