जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन्।
उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा. पाण्डेले बताए।
डा. पाण्डेले उपत्यकाभित्र अवैधरुपमा एकजनालाई पनि प्रवेश गर्न नदिन सेना परिचालन गनुपर्ने आवस्यकता देखिएको बताएका हुन्। भारतबाट आएका धेरै मजदुर र संक्रमित क्षेत्रबाट आएका मानिसहरुलाई खोजेर परीक्षण गर्ने कार्यलाई सरकारले तिब्रता दिनुपर्ने पनि उनको भनाई छ।
उपत्यकाका भित्रि, बाहिरी र मूख्य सडक लगायत सबै क्षेत्रमा प्रहरीलाई खटाई मानिसहरुलाई घर बाहिर निस्कन नदिने कामलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए। संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा अहिलेसम्म क्वारेन्टिनको व्यवस्था नगरिएकाले तत्काल क्वारेन्टिन केन्द्रहरु निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
धेरै जनसंख्या भएको ठाउँमा क्वारेन्टिन नबनाई बस्नुले सरकारले गम्भीर रुपमा नलिएको स्पस्ट हुने पनि डा. पाण्डेले बताए। सरकारले कोरोना रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा मात्रै गर्ने र अन्य कुनै व्यवस्थापन र तयारीका काम नगर्ने हो भने यसको कुनै अर्थ नहुने उनको भनाई छ।
लामो समयसम्म लकडाउन अथवा निषेधाज्ञा गर्न नहुने पनि डा. पाण्डेले बताए। एक हप्ताका लागि गरिएको निषेधाज्ञा बढीमा एक हप्ता मात्रै थप्न उनले सुझाव दिए। १४ दिन निषेधाज्ञा हुँदा सामान्य लक्षण भएका संक्रमितहरु निको भइसक्ने र लक्षण देखापरेकाहरु अस्पतालमा जाने भएकाले अर्को व्यक्तिमा संक्रमण सार्न सक्ने सम्भावना कम हुने बताए।
उनले समुदाय स्तरमा संक्रमण फैलिएको देखिएकाले १४ दिन अर्थात एक साइकल अवधिसम्म निषेधाज्ञा गर्नु उपयुक्त हुने बताए। निषेधाज्ञाको अवस्थामा जनता घरभित्र बस्ने र सरकार सडकमा आउने काम भए मात्रै संक्रमणलाई नियन्त्रण गर्न सकिने उनको भनाई छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि सरकारले परीक्षणको दायरा बढाउनुपर्ने र मास परीक्षणमार्फत धेरै भन्दा धेरै व्यक्तिको परीक्षण गर्नुपर्ने बताए।
अहिले सरकारसँग दैनिक २२ हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएकोमा सुमदायस्तरमा पुगेर पुल प्रणालीबाट दैनिक १ लाख बढीको परीक्षण गर्नुपर्ने सुझाव उनले दिए। यसबाट कुन ठाउँमा संक्रमण बढी छ भन्ने कुरा छुट्याउन सकिने र सोही अनुसार व्यवस्थापनको कार्य गर्न सकिने उनले बताए।
आइसोलेसन वार्ड र आईसीयु अहिले नै भरिएको अवस्था भएकाले संक्रमणको स्थिति बढ्यो भने ठूलो क्षति हुन सक्ने उनको भनाई छ। त्यसैले केही अस्पताललाई कोभिड अस्पतालको रुपमा छुट्याउन समेत सुझाव दिए। काठमाडौंका दुईवटा मेडिकल कलेज, दुईवटा निजी अस्पताल र दुईवटा सरकारी अस्पताललाई कोरोना अस्पतालको रुपमा छुट्याई भेन्टीलेटर, आईसीयु, आइसोलेसन वार्डको संख्या बढाउनुपर्ने उनले बताए।
संक्रमण धेरै बढेको अवस्थामा सबै विरामीलाई अस्पतालमा राख्न सम्भवन नहुने भएकाले त्यसका लागि अहिले देखिनै व्यवस्था गर्नुपर्ने उनको भनाई छ। सबै स्थानीय तहका सबै वडामार्फत कति मान्छे आफ्नै घरमा बस्छन् र कति मान्छे भाडामा बसेका छन् भन्ने तथ्याङ्क लिएर सोही अनुसार आइसोलेसन केन्द्रको व्यवसथा गर्नुपर्ने उनले बताए। यसबाट आफ्नो घरमा बस्न सम्भव नहुनेहरुका लागि आइसोलेसन व्यवस्था गर्न सहज हुने छ।
सम्बन्धित वडामा नै रहेका सरकारी भवन, पार्टीप्यालेस, होटल लगायतको ठाउँमा आइसोलेसन बेड तयार गर्ने र न्यूनतम स्वास्थ्यकर्मीको व्यवस्था गरी उपचारको व्यवस्था गर्नुपर्ने बताए। जसलाई आईसीयु तथा भेन्टीलेटरमा राख्नुपर्ने विरामीलाई मात्रै अस्पताल भर्ना गर्ने व्यवस्था गर्नुपर्ने बताए।
भेन्टीलेटरमा राख्नुपर्ने संक्रमितलाई निको हुने सम्भावना कम भएकाले भेन्टीलेटरको संख्या धेरै बढाउने भन्दा आईसीयु र आइसोलेसन बेड थप्ने र अक्सिजन प्लान्ट राखेर सेवा दिनुपर्ने उनले बताए। कोरोना संक्रमण भएको अवस्थामा शरीरमा अक्सिजनको कमि हुने भएकाले अक्सिजनको प्लान्टको व्यवस्था गर्नुपर्ने उनले बताए।
विदेशमा अप्ठेरो अवस्थामा रहेका नेपालीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने काम पनि निषेधाज्ञाको अवस्थामा नै सम्पन्न गर्नुपर्ने उनले बताए। नेपालमा क्वारेन्टिनको व्यवस्था गरी उनीहरुलाई उद्दार नगरे ठूलो क्षति हुनसक्ने पनि उनको भनाई छ। भारतसँगको सिमानाबाट पनि धेरै मानिसहरु नेपालमा आउने भएकाले त्यसको व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्नुपर्ने बताए।
अब पनि तयारी पुगेको छैन भन्ने अवस्था नरहेको उनको तर्क छ। कुनैपनि नेपाली नेपाल आउन चाहन्छ भने त्यसको व्यवस्थापन गरी आउन दिनुपर्ने उनले बताए। त्यो काम पनि निषेधाज्ञाको अवस्था भित्र नै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।
सबैले मास्क लगाउँदा ७० प्रतिशत संक्रमणलाई कम गर्न सकिने र मास्कसँगै भौतिक दुरीलाई कायम गर्ने हो भने संक्रमणको अवस्थालाई ९० प्रतिशत कम गर्न सकिने र हात धुने लगायतका काम गर्दा संक्रमणलाई अधिकतम रुपमा नियन्त्रण गर्न सकिने उनले बताए।

प्रतिक्रिया