काठमाडौँको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला अदालत काठमाडौंले बिहीबार उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो।
साउन ८ गते ओखलढुंगाकी एक युवतीमाथी मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदले एसिड प्रहार गरेका थिए। उनीहरुलाई प्रहरीले त्यहि रात पक्राउ गरेको थियो।
उक्त मुद्दामा बिहीबार सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहले पीडितलाई २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउन आदेश दिएका छन्।त्यसका लागि राहत कोषबाट रकम उपलब्ध गराउन भनिएको छ।
पीडितको उपचारका लागि क्षतिपूर्ति तथा राहतकोषबाट २ लाख रुपैयाँ राहत तत्काल उपलब्ध गराउने फैसला भएको अधिवक्ता राधिका खतिवडाले बताइन्।
‘एसिड पीडितलाई क्षतिपूर्ति राहत कोषबाट रकम उपलब्ध गराउनु भनेर थुनछेकको आदेशकै क्रममा आदालतले तोकेको यो पहिलो पटक हो,’ खतिवडाको दाबी छ।
फौजदारी संहितामा एसिड आक्रमण गर्नेमाथि ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ देखि ५ लाख रुपैयाँसम्म दण्ड गर्ने व्यवस्था छ।
पीडितको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भैरहेको छ।
बिहीबार भएको थुनछेक बहसमा पीडित युवतीको तर्फबाट एक सय जना कानुन व्यवसायीले वकालतनामा पेश गरेका थिए। तीमध्ये सरकारी वकिल चपला पोखरेल र अधिवक्ता खतिवडासहित १० जनाले पीडितको पक्षबाट बहस गरेका थिए।

प्रतिक्रिया