ad ad

समाज


काठमाडौंका संक्रमित : फोन काटेको काट्यै गर्छन्, गलत नम्बर दिन्छन्

काठमाडौंका संक्रमित : फोन काटेको काट्यै गर्छन्, गलत नम्बर दिन्छन्

नेपालखबर
भदौ ३, २०७७ बुधबार ११:२७,

काठमाडौं महानगरपालिकामा रहेका केही कोरोना संक्रमितहरु सम्पर्कमा नआउँदा कन्ट्रयाक्ट ट्रेसिङ र संक्रमितको अनुगमनमा कठिनाइ उत्पन्न भएको छ।

संक्रमितहरुले स्वाब संकलनको क्रममा उपलब्ध गराएको फोन नम्बर नै गलत लेख्ने, सम्पर्कका लागि फोन गर्दा नउठाउने, फोन अफ गरेर बस्ने कारणले समस्या आएको वडाका स्वास्थ्यकर्मीहरुले नेपालखबरसँग बताएका छन्।

सम्पर्कमा आएका संक्रमितहरुले पनि आफूले भेटेका मानिस र गएको स्थानबारेमा स्पष्ट जानकारी दिन आनाकानी गरेका छन्।

काठमाडौँ महानगरपालिका वडा नम्बर १४ का स्वास्थ्यकर्मी ध्रुव श्रेष्ठले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पठाएको विवरणमा रहेका तीन जना संक्रमितसँग सम्पर्क हुन नसकेको बताए।

‘तीन जनासँग सम्पर्क हुन सकेको छैन। एक जनाले फोन काटेको काट्यै गर्नु हुन्छ, अर्को एक जनाले गलत नम्बर दिनु भएको छ। तेस्रो व्यक्तिको फोन सम्पर्क हुन नसक्ने बनाएर राख्नु भएको छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘संक्रमितहरुले सहयोग गर्नु भएन भने भाइरस रोकथाम गर्न कठिन हुन्छ।’

विभागले जिल्ला स्वास्थ्य कार्यालय हुँदै महानगरमा संक्रमतिहरुको विवरण पठाउने गर्छ। तर विभागबाट आएको संक्रमितको विवरणअनुसार स्वास्थ्यकर्मीले सम्पर्क गर्न खोज्दा विभिन्न समस्या आइपर्ने वडा नम्बर १५ की स्वास्थ्यकर्मी उमाकुमारी खड्का बताउँछिन्।

‘मंगलबार आएको विवरणअनुसार सम्पर्क गर्न खोज्दा एक जनाले फोन काटेको काट्यै गर्नु भयो,’ खड्काको गुनासो थियो।

वडा नम्बर ३१ की स्वास्थ्यकर्मी सिर्जना जिसी र वडा नम्बर १ की स्वास्थ्यकर्मी निर्मला गोसाइँ श्रेष्ठको पनि यस्तै गुनासो छ।

‘पढे लेखेका मानिस हुन्। तर किन सम्पर्कमा आउन चाहनुभएन, थाहा भएन। फोन गर्दा कहिले काट्नु हुन्छ कहिले मोबाइलको अफ हुन्छ,’ श्रेष्ठले भनिन्, ‘उहाँहरुले सहयोग गरिदिए समुदायका अन्यमा सर्ने डर हुँदैन।’

श्रेष्ठले आफ्नो वडामा केही परिवारले विवरण दिन नमानेको बताइन्।

‘संक्रमण धेरै देखिएको स्थानमा सिल पनि गर्नुपर्ने हुन्छ। क्लोज कन्ट्याक्टमा को को हुनुहुन्थ्यो जानकारी दिनुस्, उहाँहरुलाई क्वारेन्टिनमा पठाउनुपर्छ भन्दा जानकारी गराउनु चाहनु भएन,’ श्रेष्ठले भनिन्।

सो वडामा दुई दिनमै १४ जना संक्रमित देखिएका थिए।संक्रमितहरुलाई दैनिक जस्तो फोन गरेर जानकारी लिने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य सेवा विभाग कोभिड १९ उपचारका फोकल पर्सन ज्ञानबहादुर ओलीले ठेगाना नमिलेको, कार्यक्षेत्रभन्दा बाहिर रहेका वा सम्पर्कमा हुन नसकेको संक्रमितहरुको बारेमा निरन्तर रुपमा विभाग र जनस्वास्थ्य कार्यालयलाई जानकारी गराएको बताए।

‘कार्यक्षेत्रभन्दा बाहिर भएका, ठेगाना नमिलेका वा सम्पर्कमा नआएर ट्रेसिङ गर्न नसकिएको संक्रमितको बारेमा हामीले तत्कालै जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी गराउने गरेका छौं,’ ओलीले भने।

उनले रोग नियन्त्रण विभाग र जिल्ला जनस्वास्थ्यले संक्रमति व्यक्तिसँग सम्पर्क भएपनि कन्ट्याक्ट ट्रेसिङ र बिरामीको बारेमा निरन्तर जानकारी लिने काम वडाकै स्वास्थ्यकर्मीहरुले गर्ने गरेको बताए।

वडा नम्बर ३० की स्वास्थ्यकर्मी शान्ता ढुंगेलले संक्रमित व्यक्ति वा उनको परिवारका सदस्यहरुले सुरुसुरुमा कुराकानी गरे पनि पछि फोन नउठाउने गरेको बताइन्।

‘कतिले त तपाईंहरुले के गर्न सक्नु हुन्छ भनेर समेत सोध्नुहुन्छ,’ उनले भनिन्।

बढी संक्रमित भएको स्थानमा पर्याप्त मात्रमा स्वास्थ्यकर्मीहरुको व्यवस्था नहुँदा समेत कन्ट्याक्ट ट्रेसिङमा समस्या परेको वडा नम्बर ४ र १६ का स्वास्थ्यकर्मीको गुनासो थियो। ५२ जना संक्रमित भेटिएको वडा नम्बर १६ मा एक जना मात्रै स्वास्थ्यकर्मीले ट्रेसिङको काम गरिरहेका छन्।

‘यता अन्य बिरामीहरु पनि आउनु हुन्छ। क्लिनिक पनि बन्द गर्न मिलेन। अर्कोतर्फ संक्रमितको अवस्था बुझ्न निरन्तर सम्पर्क पनि गर्नुपर्ने हुन्छछ। कन्ट्याक्ट ट्रेसिङको पनि काम गर्नुपर्ने हुन्छ। एक्लैले भ्याउनै गाह्रो छ,’ स्वास्थ्यकर्मी रामचन्द्र पोखरेलको गुनासो छ, ‘जनशक्ति थपिदिनु पर्‍यो भनेर पटक पटक भनेँ तर थपिएको छैन।’

५४ जना संक्रमित रहेको वडा नम्बर ४ मा कन्ट्याक्टर ट्रेसिङका लागि दुई जना मात्र भएको स्वास्थ्यकर्मी निरन्जनी श्रेष्ठले बताइन्।

यो पनि: 
यस्तो छ काठमाडौँ महानगरका बत्तीसै वडामा कोरोना संक्रमणको अवस्था

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .