ad ad

समाज


यस्तो छ काठमाडौँ महानगरका बत्तीसै वडामा कोरोना संक्रमणको अवस्था

यस्तो छ काठमाडौँ महानगरका बत्तीसै वडामा कोरोना संक्रमणको अवस्था

मणि दाहाल
भदौ २, २०७७ मंगलबार १७:२३,

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय काठमाडौँमा सबैभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन्। तीमध्ये काठमाडौं जिल्लामा मात्रै १ हजार ६५८ जना छन्। त्यसमा पनि सबैभन्दा बढी काठमाडाैँ महानगरमा मात्रै १ हजार ६८ जना संक्रमित रहेको महानगरपालिकाका कोभिड १९ फोकल पर्सन ज्ञानबहादुर ओलीले बताए।

उनका अनुसार हालसम्म महानगरभित्र बसोबास गरेका ६ जनाको कोडिभ १९ का कारण मृत्यु भएको छ।

काठमाडौँ महानगरभित्रका कोटेश्वर, बालाजु, बालुवाटार, घट्टेकुलो, भोटाहिटी, महाबौद्ध, शान्तिनगर, असन, बालुवाटार, कलंकी क्षेत्रमा तुलनात्मक रुपमा बढी संक्रमित भेटिएको महानगरपालिकाका स्वास्थ्य सेवा विभागले जनाएको छ।

महानगरपालिकाका वडा नम्बर १८ बाहेक सबै वडामा संक्रमित भेटिएका छन्। महानगरका ३२ वटै वडामा संक्रमणको अवस्था कस्तो छ त?

वडा नम्बर ३२: सबैभन्दा धेरै संक्रमित, टोलैपिच्छे संक्रमित
काठमाडौं महानगरपालिकाको स्वास्थ्य सेवा विभागका कोभिड १९ उपचार फोकल पर्सन ज्ञानबहादुर ओलीले वडा नम्बर ३२ कोटेश्वरमा सबैभन्दा बढी संक्रमित देखिएको बताए।

‘कोटेश्वरको प्रहरी चौकीभन्दा पश्चिमतर्फको क्षेत्रमा बढी संक्रमित भेटिएको छ,’ ओलीले भने, ‘सरुवा तथा संक्रमण रोग नियन्त्रण विभाग र महानगरपालिकाबीच समन्वयमा कन्ट्याक ट्रेसिङ र स्वाब सकंलन गर्ने काम गरेका छौं।’

गत साता नै संक्रमितको संख्या बढेपछि वडाले सेतीओपी मार्गस्थित असर्फी टोल सिल गरेको थियो। कोटेश्वर, तीनकुने, महादेवस्थान, नरेफाँट, जडीबुटी, पेप्सीकोला यस वडामा पर्छन्।

वडा नम्बर ३२ की स्वास्थ्यकर्मी मैया सैँजुले सो वडामा ७२ जना संक्रमित भेटिएको बताए।

‘असर्फी टोलमा बढी देखिएपनि सबै जस्तो टोलहरुमा संक्रमित भेटिएका छन्,’ सैँजुले नेपालखबरसँग भनिन्, ‘हामीले जनप्रतिनिधिहरुसँग सहकार्य गरेर कन्ट्याक ट्रेसिङको काम गरिरहेका छौँ। समुदायमा फैलिन सक्ने भएकाले ट्रेसिङ बढाउन आवश्यक छ।’

वडा नम्बर ३१ः संक्रमितले फोन काट्दा हैरान
वडा नम्बर ३१ मा २२ जना संक्रमित छन्। जसमध्ये ११ जना होम आइसोसलनमा रहेको स्वास्थ्यकर्मी सिर्जना जिसीले बताइन्। शंखमुल, मीनभवन, शान्तिनगर, मिलन चोक, कात्यायनी चोक, पुरानो बानेश्वर यस वडामा पर्छन्।

‘पोजिटिभ देखिएको एक जनासँग सम्पर्क हुन सकेको छैन,’ जिसीले भनिन्, ‘उहाँले दिएको नम्बरमा लगातार फोन गरिरहेका छौँ। तर, उहाँले काटेको काट्यै गर्नुहुन्छ।’

संक्रमितमध्ये ९ जना अस्पतालमा छन्। ‘एक जनाको धुलिखेल अस्पतालमा मृत्यु भयो। उहाँ ९७ वर्षको हुनुहन्थ्यो,’ जिसीले भनिन्।

शान्तिनगरको खरिबोट, प्रयोगमार्गसहितका क्षेत्रमा संक्रमित भेटिएको उनले बताइन्।

वडा नम्बर ३०ः खाना नपाएको संक्रमितको गुनासो
धोबीधारा, डिल्लीबजार, ज्ञानेश्वर, मैतिदेवी रहेको वडा नम्बर ३० मा ८ जना संक्रमित फेला परेको स्वास्थ्यकर्मी शान्ता ढुंगेलले बताइन्।

‘अस्पतालमा तीन जना, सोल्टी होटलको आइसोलेसनमा १ जना, बाँकी होम आइसोलेसनमा हुनुहुन्छ,’ ढुंगेलले भनिन्, ‘बैंकले होटल सोल्टीमा आइसोलेसनमा पठाएको रहेछ।’

उनले आइसोलेसनमा बसेकाहरुसँग सूचना लिन गाह्रो भएको बताइन्।

‘के गर्न सक्नुहुन्छ? तपाईं के गर्न हुन्छ? घरमा थुनेर राखेपछि खान पाइएको छैन, ल्याइदिनु हुन्छ भन्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले त वडालाई भन्ने हो।’

वडा नम्बर २९, २८ः डाक्टर नै आईसीयूमा
सिंहदरबार, अनामननगर, घट्टेकुलो, कालिकास्थान, डिल्लीबजार, न्यु प्लाजा रहेको क्षेत्र वडा नम्बर २९ मा २५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ७ निको भएका छन्।

‘१३ जना होम आइसोलसन र एक जना आईसीयूमा हुनुहुन्छ,’ सो वडाकी स्वास्थ्यकर्मी सुनिता क्षेत्री बोहोराले भनिन्, ‘वीर अस्पतालका चिकित्सक पनि संक्रमित हुनु भएको थियो। श्वास प्रश्वासको समस्या भएपछि टिचिङको आईसीयूमा भर्ना गरिएको छ।’

न्युप्लाजा र घट्टेकुलो क्षेत्रमा बढी संक्रमित छन्।

पुरानो बडा नम्बर ३१ अहिलेको बडा २८ हो। यसमा बागबजार, पुरानो बसपार्क, पुतलीसडक, धोबीधारा क्षेत्र छ। यसमा सोमबारसम्म १२ जना संक्रमित फेला परेका छन्।

वडा नम्बर २७: बजारमा संक्रमण, १ को मृत्यु
२७ नम्बर वडामा ४६ जना संक्रमित फेला परेका छन्। महाबौद्ध, असन, ज्याठा हुँदै ठमेलको कर्मचारी संचयकोषसम्मको क्षेत्र यो वडामा पर्छ। असन, महाबौद्ध, भोटाहिटीजस्तो बजारमा संक्रमण देखिएको छ।

यो वडामा एक जनाको मृत्यु भएको स्वास्थ्यकर्मी मनिषा श्रेष्ठले बताइन्।

‘१३ जना होम आइसोलेसन हुनुहुन्छ। र बाँकी अस्पतालमा हुनुहुन्छ,’ उनले भनिन्, ‘धेरै जस्तोमा लक्षण देखिएको छैन। पसलहरु भएको कारणले र्‍यान्डम परीक्षण गर्दा ती केस भेटिएका हुन्।’

वडा नम्बर २६ः विद्यार्थीलाई सकस
ठमेल चोक, अस्कल क्याम्पस, गल्कोपाखा, कपुरधारा, सामाखुसी, रानीबारी, गोंगबुको नयाँ बसपार्क आदि क्षेत्र रहेको वडा नम्बर २६ मा २३ जना संक्रमित छन्।

जसमध्ये सात जना होम लाइसोलेसनमा र अरु अस्पतालमा रहेको वडाकी स्वास्थ्यकर्मी मिठु श्रेष्ठले श्रेष्ठले बताइन्।

‘कोठामा बस्ने विद्यार्थीहरुलाई अलि समस्या भएको देखिन्छ। एउटै कोठामा धेरै बस्ने भएकाले समस्या भएको हो,’ श्रेष्ठले भनिन्।

वडा नम्बर २५: कन्ट्याक्ट ट्रेसिङ बाँकी
असन, त्यौड, नसल चोक रहेको यो वडामा ८ जना संक्रमित छन्। जसमध्ये २ जना निको भएको छ।

‘आज पाँच जना थपिनु भएको छ र भर्खरै जानकारी आएकाले कन्ट्याक्ट ट्रेसिङको काम सुरु मात्रै भएको छ,’ स्वास्थ्यकर्मी सञ्जु श्रेष्ठले बताइन्।

एक जना अस्पतालमा भर्न भएको उनले बताइन्।

वडा नम्बर २४, २३, २२ र २१ः सुन पसलमा संक्रमण
जनसेवा, बसन्तपुर, इन्द्रचौक, कुमारी चोक, इटुम्बाहाल, नरदेवी क्षेत्र वडा नम्बर २४ मा पर्छ। यहाँ तीन जनामा संक्रमित देखिएका छन्।

‘तीनै जना होम आइसोलेसनमा हुनुहुन्छ। सुन पसलमा काम गर्ने एक जनामा पहिले संक्रमण देखियो। त्यसपछि थप २० जनाका स्वाब जाँच गरिएको थियो। तीनै जना समान्य अवस्थामा हुनुहुन्छ। होम आइसोलसनमा हुनुहुन्छ,’ वडाका स्वास्थ्यकर्मी बिमलेश मिश्रले भने।

चिकामुगल, ओमबहाल, बालसेवा स्कुल, झाँेछे रहेको वडा नम्बर २३ मा ८ जना संक्रमित छन्। जसमध्ये चार होम आइसोलेसनमा र दुई जना अस्पतालमा छन्। एक जना निको भएको र एक जना अन्यत्र स्थानन्तरण भएको वडाकी स्वास्थ्यकर्मी वसन्ती पोखरेलले बताइन्।

‘सबै माइग्रेन्ट केस हो,’ उनले भनिन्।

वडा नम्बर २२ मा पर्ने न्युरोड गेट, भूगोलपार्क, सुन्धारा, गणबहाल, सैनिक अस्पताल, गुच्छा टोल, ओटुमा चार जना संक्रमित भएका छन्।

‘२ जना निको हुनभयो, २ होम आइसोलन हुनुहुन्छ,’ स्वास्थ्यकर्मी ज्योति शर्माले बताइन्।

जैसीदेवल, भोटेबहाल, लगन, कुमारीगाल रहेको वडा नम्बर २१ मा २ जना संक्रमित अस्पतालमा छन्।

‘स्थानीय बासिन्दा नै हो तर उपत्यकाबाहिर गएर आउनु भएको रहेछ,’ स्वास्थ्यकर्मी ऋषिराम भुसालले बताए।

वडा नम्बर २०
भीमसेनस्थान तावहिल कुहिटी लगायतको क्षेत्र रहेको बडा नम्बर २० मा एक जना मात्रै संक्रमित छ। ‘अहिलेसम्म एउटामात्रै केस आएको छ । उहाँ संक्रमित भएको पत्ता लागेको एक साता भयो। होम आइसोलेसनमै हुनुहुन्छ । परिवारका अन्यमा देखिएको छैन । घर बाहिर नगएपनि संक्रमण देखिएको जानकारी गराउनु भएको छ,’ वडाको स्वास्थ्यकर्मी शारदा खड्काले भनिन् ।

वडा नम्बर १९, १७: पाँच महिनाको बच्चासहित एकै परिवारका चार जनामा संक्रमण
मरु टोल, ढोका टोल रहेको वडा १९ मा एकै परिवार चार जनामा संत्रमण भएको छ।

‘एकै परिवारका हुनुहुन्छ। पहिले पतिलाई देखियो। त्यसपछि पत्नी र दुई सन्तानलाई पनि भयो,’ स्वास्थ्यकर्मी मीना श्रेष्ठले भनिन्, ‘पाँच महिना र नौ वर्षको बच्चालाई पनि भएको छ। उहाँहरुको कालामाटीमा पसल थियो। सबै सामान्य अवस्थामा हुनुहुन्छ र होम आइसोलसनमा हुनुहुन्छ।’

वडा नम्बर १८: संक्रमित फेला नपरेको महानगरको एक मात्र वडा
नरदेवी क्षेत्र रहेको वडा नम्बर १८ मा अहिलेसम्म कुनै संक्रमित नभेटिएको स्वाथ्यकर्मी शारदा केसीले बताइन्।

वडा नम्बर १७ः ७ जना संक्रमित
ठहिटी, क्षेत्रपाटी, खुसिबु क्षेत्र रहेका वडा १७ मा सात जना संक्रमित छन्। वडाकी स्वास्थ्यकर्मी सुरक्षा शर्माले एक संक्रमित अस्पताल भर्ना भएको बताइन्।

‘अरु होम आइसोलनमा हुुनुहुन्छ, कोही महाबौद्धमा पसल गर्ने, भारतको बिहारबाट आएका र तराईबाट आएका र वडामै होटल गर्नेलाई समेत संक्रमण देखिएको छ,’ शर्माले भनिन्।

वडा नम्बर १६ र १५ : औद्योगिक क्षेत्रमा संक्रमण
सोह्रखुट्टे, बालाजु, पनस्थली, चमती, माछापोखरी, बालाजु बाइपास समेटिएको वडा १६ मा ५२ जना संक्रमित छन्। सबैभन्दा धेरै बालाजु औद्योगिक क्षेत्रमा एक मैदा मिलमा काम गर्नेहरु रहेकोस्वाथ्यकर्मी रामचन्द्र पोखरेलले बताए।

‘सुरुमा बालाजु औद्योगिक क्षेत्र विकास समितिमा काम गर्ने धनुषाबाट आएका एक मानिसमा देखियो। त्यसपछि मैदा कारखानामा १६ जनामा संक्रमण भयो,’ पोखरेलले भने, ‘कतै पनि यात्रा नगरेको केही बासिन्दामा पनि संक्रमण देखिएको छ।’

उनले ४ जना बालाजु चोकमा देखिएको सबै स्थानीय भएको बताए। नयाँ बजारमा ६ जना, बनस्थली चोकमा ९, बालाजु बाइपासमा ६, सोह्रखुट्टेमा दुई, खरिबोट र पकनाजोल एकएक जना संक्रमित भएको बताए।

त्यसैगरी जनमैत्री अस्पताल रहेको क्षेत्रमा पाँच जना, म्हेपीमा २ जना, गंगा हल क्षेत्रमा एक जना, चमती नयाँ पुलमा तीन जना संक्रमित भेटिएका छन्।

‘नौ जना घरमा आइसोलनमा बस्नु भएको छ। ८ जनालाई निको भयो,’ पोखरेलले भने, ‘बाँकी अस्पतालमा हुनुहुन्छ।’

‘संक्रमित बढेको बढ्यै छन्। कन्टयाक्ट ट्रेसिङमा म एक्लै छु। त्यसले समस्या भइरहेको छ,’ पोखरेलले भने, ‘वडाका क्लिनिक हेर्ने र अन्य कामअघि बढाउनु पर्दा समस्या भएको छ।’

स्वयम्भू, भुइँखेल रहेको वडा नम्बर १५ मा १८ जना संक्रमित छन्। सो वडाकी स्वास्थ्यकर्मी उमाकुमारी बस्नेतले होम आइसोलेसनमा ६ र अस्पतालमा ६ जना रहेको बताइन्। ५ जना निको भइसकेका छन्।

‘एक जना सम्पर्कमा आउनु भएको छैन। फोन रिसिभ गर्नु भएन,’ उनले भनिन्, ‘भगवान पाउँ र भुँइखेलमा ८, सीतापाइलामा ४ जना, डल्लु आवास ४ जना संक्रमित हुनु भएको छ।’

वडा नम्बर १४:  प्रवेश विन्दुमै बढी संक्रमण
काठमाडौँ प्रवेश गर्ने तीन विन्दु कलंकी, बल्खु, सीतापाइला वडा नम्बर १४ मै पर्छ। त्यसैले यो वडा बढी जोखिममा देखिएको छ। हालसम्म वडामा ५९ जना संक्रमित भेटिएका छन्।

‘तीमध्ये ६ जना निको भएका छन्। अस्पतालमा १६ जना छन्। तीन जना सम्पर्कमा आएका छैनन्,’ वडाका स्वास्थ्यकर्मी ध्रुव श्रेष्ठले भने, ‘अरु सबै होम आइसोलेसनमा हुनुहुन्छ।’

श्रेष्ठका अनुसार आधाभन्दा बढी संक्रमित कंलकी क्षेत्रमा, त्यसपछि कुलेश्वर र अन्य बल्खुमा छन्।

‘आउने जाने जंक्सन छ र तरकारी र फलफूल बजारमा धेरै भीडभाड हुन्छ,’ उनले भने, ‘भारत र तराईबाट आएका धेरै संक्रमित हुनुहुन्छ। ’

वडा नम्बर १३ र १२ः डेरामा बस्नेसँग गोप्य सम्पर्क
कालीमाटी, ताहाचल, बाफल, सोल्टीमोड, रविभवन लगायतको क्षेत्र ओगट्ने वडा १३ मा ३८ संक्रमित छन्।

सबैको अवस्था समान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

‘होम आइसोलेसनमा १८ जना छन्। स्थानान्तरण गरेर अन्य स्थानमा २ जना पठाइएको छ भने २ जना निको भएका छन् र बाँकीको अस्पतालमा उपचार भइरहेको छ,’ स्वास्थ्यकर्मी सुशीला वस्तीले बताइन्।

‘संक्रमित मध्ये थोरै मात्र बाहिरबाट आउनु भएका हो। टंकेश्वरमा ७ जना, ताहाचालमा ६, बाफलमा ६, सोल्टीमा मोडमा ३ र रविभवनमा २ जना संक्रमित हुनुहुन्छ,’ वस्तीले भनिन्, ‘डेरामा बस्नेहरुले संक्रमित भएको घरबेटीले थाहा पाए अफ्ठ्यारो पार्न सक्ने भनेपनि गोप्य रुपमा सम्पर्क गरेका छौँ।’

वडा नम्बर १२ मा पर्ने टेकु क्षेत्रमा २४ जना संक्रमित छन्। जसमध्ये ४ जना अस्पतालमा छन्। बाँकी होम आइसोलेसनमा रहेका छन्।

वडा नम्बर ११ः जेलमा संक्रमित
भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, बबरमहल, बिजुली बजार, कुरिया गाउँ रहेको वडा ११ मा २४ जना संक्रमित छन्। जसमध्ये अस्पतालमा ५ जना र १९ जना होम क्वारेन्टिनमा छन्।

‘२ जनाका नर्भिक अस्पतालमा उपचार भइरहेको छ,’ वडाका स्वास्थ्यकर्मी लक्ष्मी पौडेलले भनिन्, ‘सेन्ट्रल जेलमा ३ जना संक्रमित हुनुहुन्छ र स्वास्थ्य मन्त्रालयका २ ड्राइभरमा पनि संक्रमण देखिएको छ। खासै लक्षण छैन। स्थानीय कम हुनुहुन्छ।’

वडा नम्बर १०ः एकै परिवारका ९ जना संक्रमित
बुद्धनगर, नयाँ बानेश्वर, शिवदर्शन, मध्य बानेश्वर, पुरानो बानेश्वर क्षेत्र रहेका वडा १० मा ३६ जना संक्रमित छन्। तीमध्ये अधिकांश होम आइसोलनमा रहेको वडाका स्वास्थ्यकर्मी उज्ज्वल पन्थीले बताए।

‘जटिल अवस्थामा कोही पनि छैन,’ पन्थीले भने, ‘बिजुली बजारमा एकै परिवारका नौ जनामा संक्रमण देखिएको छ। वीरगञ्ज आएका र अन्य रोगका लागि उपचार गर्न गएर फर्केकामा समेत कोरोनो देखिएको छ।’

वडा नम्बर ९, ८, ७ र ६ः संक्रमित होटलमा
गैरीगाउँ, सिनामंगल, पुरानो बानेश्वर, बत्तिसपुतली रहेको वडा नम्बर ९ मा अहिले ७ जना संक्रमित छन्।

‘रौहतटबाट आउनुभएको चार जनामा संक्रमण देखिएको छ, उहाँहरु गौशालाको होटलमा बस्नु भएको छ। बुधबार १४ दिन पुग्दैछ,’ वडाकी स्वास्थ्यकर्मी सवित्री खड्काले भनिन्, ‘गैह्रीगाउँका २ जना घरमै आइसोलेसनमा बस्नु भएको छ। भाडामा बस्ने एक जनालाई हामीले अस्पताल लग्यौँ।’

तिलगंगा, देउपतन, गौशाला, जयबागेश्वरी क्षेत्र रहेको वडा नम्बर ८ मा पाँच जना संक्रमित छन्। २ जना अस्पताल र २ जना होम आइसोलेसमा छन् भने एक जना भने काभ्रेमा क्वारेन्टिनमा छिन्।

वडा नम्बर ७ मा पर्ने चाबहिल, मित्रपार्क, मैजुबहाल, गोपीकृष्ण क्षेत्रमा २३ जना संक्रमित छन्। सो वडाकी स्वास्थ्यकर्मी सुभाषिनी कर्माचार्यले १३ जना होम आइसोलेसनमा र बाँकी अस्पतालमा भर्ना भएको बताइन्।

‘चार जनामा ज्वरो छ। एक जना सुगरका बिरामी हुनुहुँदो रहेछ, एक जनामा खुट्टा सुन्निएको छ,’ कर्माचार्यले भनिन्।

सिमलटार, चारघरे, रामहिटी, महाकाल, चुच्चेपाटी, बौद्ध क्षेत्र रहेको वडा नम्बर ६ मा ६ जना संक्रमित छन्।

‘२ जना अस्पतालमा हुनुहुन्छ। चार जना होम आइसोलेसनमा हुनुहुन्छ। २ जना नयाँ हुनुहुन्छ। आजै जानकारी आएको हो बुधबारबाट कन्टयाक्ट ट्रेसिङको काम हुन्छ,’ वडाकी स्वास्थ्यकर्मी सीतामाया जिरेलले भनिन्।

वडा नम्बर ५ः प्रहरीबाट परिवारमा सर्‍यो कोरोना
विशालनगर, हाँडीगाउँ, मालीगाउँ, भाटभटेनी भएको वडा ५ मा २३ जना संक्रमित छन्। ३ जना निको भएका छन्।

‘हेडक्वाटरमा काम गर्ने प्रहरीको परिवारमा भयो। उहाँको परिवारमा ६ जना सर्‍यो। अन्य केहीमा पनि सर्‍यो। धेरै होम आइसोलनमा हुनुहुन्छ। कसैको अवस्था पनि गम्भीर छैन,’ स्वास्थ्यकर्मी एरिना मास्केले भनिन्, ‘धेरैलाई भने त्रासको कारण त्यस्तै लक्षण देखिएको बताउनु हुन्छ। तर पिसिआर गर्दा नोगेटिभ देखिएको छ।’

वडा नम्बर ४ मा पर्ने धुम्बाराही, चुनदेवी, टुँडालदेवी क्षेत्रमा र ५४ जना संक्रमित छन्।

टुँडालदेवी बस्ने एक प्रहरीका परिवारका एघार जनामा संक्रमण देखिएको वडाकी स्वास्थ्यकर्मी निरन्जनी श्रेष्ठले बताइन्।

श्रेष्ठका अनुसार सोमबार मात्रै तीन जनामा पोजिटभ देखिएको र मंगलबार ५ संक्रमित सो वडामा थपिएको बताइन्।

‘२ जना स्टाफ छौँ कन्ट्रयाक्ट ट्रेसिङ गर्न गाह्रो छ,’ उनले भनिन्।

संक्रमितमध्ये ३० जना अस्पतालमा र बाँकी होम आइसोलेसनमा रहेको श्रेष्ठले बताइन्।

‘भुसका आगो जस्तो फँैलिदै गएको छ। ठूलै समस्या ल्याउँछ कि भन्ने डर लागेको छ,’ श्रेष्ठले भनिन्।

वडा नम्बर ३ र २ः अस्पतालमा धेरै संक्रमित
महाराजगञ्ज, टिचिङ अस्पताल, चक्रपथ, बाँसबारी क्षेत्र रहेको वडा नम्बर ३ मा ६२ जना संक्रमित छन्। वडाकी स्वास्थ्यकर्मी निशा पण्डितका अनुसार संक्रमित हुने धेरै अस्पतालका स्वास्थ्यकर्मी र त्यहाँ कार्यरत कर्मचारी छन्।

‘धेरैजस्तो टिचिङ, गंगालाल अस्पतालमा कार्यरत र सैनिक हुनुहुन्छ,’ पण्डितले भनिन्। जसमध्ये ४९ जना अस्पतालको आइसोलेसनमा छन्। चार जना निको भएर फर्किएका छन्। नौ जना होम आइसोलेसनमा छन्।

‘बाँसबारीको एकै परिवारका सात जनामा संक्रमित हुनु भएको थियो,’ पण्डितले भनिन्, ‘त्यसमध्ये निको भएर चार जना फर्किनु भयो।

बालुवाटार, टंगाल, लाजिम्पाट, धोबीचौर रहेको वडा नम्बर दुईमा २ जना संक्रमित छन्।

‘एक टिचिङ अस्पतालको कर्मचारी हुनुहुँदो रहेछ। उहाँ अस्पतालमा बस्नु भएको छ भने निर्माण कम्पनीमा काम गर्ने अर्का व्यक्ति होम आइसोलेसनमा हुनुहुन्छ,’ वडा नम्बर २ की स्वास्थ्यकर्मी दुर्गादेवी अधिकारीले भनिन्।

वडा नम्बर १ः दुई दिनमै १४ थपिए
जमल, फोहोरा दरबार, दरबारमार्ग, नागपोखरी, गैरीधारा, नेपाल प्रहरी हेडक्वार्टर, कमलपोखरी क्षेत्र एक नम्बर वडामा पर्छ।

सो वडाका स्वास्थ्यकर्मी निर्मला श्रेष्ठले संक्रमित दैनिक रुपमा थपिएको बताइन्।

‘हिजो चारजना र आज १० जनामा संक्रमण देखिको छ,’ श्रेष्ठले भनिन्, ‘एक व्यापारिक घरानामा कोरोनाको संक्रमण देखिएको छ। उहाँका घरका कामदारदेखि ड्राइभर समेत संक्रमित छन्। सबैको कन्ट्रयाक गर्नुपर्छ।’

उनले केहीमा सामान्य लक्षण देखिएको बताइन्। एक जना संक्रमित व्यक्ति सम्पर्कमै आउन नचाहेको बताइन्।

‘डिटेल हिस्ट्री दिने कुरामा संक्रमितहरुले अनाकानी गर्नु भएको छ। संक्रमण बढ्न नदिने हो भने तत्काल संक्रमण देखिएको क्षेत्रलाई सिल गर्न आवश्यक छ,’ श्रेष्ठले भनिन्, ‘एक जना संक्रमित सम्पर्कमा आउन चाहनु भएको छैन। फोन काटेको काट्यै गर्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .