ad ad

समाज


बाढीमा ज्यान गुमाउनेका परिवारलाई दुई/दुई लाख प्रदान

बाढीमा ज्यान गुमाउनेका परिवारलाई दुई/दुई लाख प्रदान

नेपालखबर
भदौ २, २०७७ मंगलबार ७:३८,

कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो।

भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परी ज्यान गुमाएका भजनी–८ काढाँढिकका ईश्वर शाह, चक्रबहादुर विक र जनकपुरका एजिकल चौधरीका परिवारलाई प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले दुई/दुई लाखको चेक हस्तान्तरण गरेका हुन्।

प्रजिअ बोहराले मृतक शाहकी श्रीमती शोभा शाह, विककी श्रीमती सावित्री विक र चौधरीका बुवा रमेश चौधरीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

भजनीका बाढीपीडितले रकम पाएपछि राहत महसुस गरेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए। ‘बाढीले भजनीमा त्रास सिर्जना भएको छ। बाढीमा बगेका परिवारमा थप पीडा छ’, उनले भने, ‘पीडामा राहत पाउँदा सरकार भएको अनुभूति पीडितले गरेका छन्।’

भजनीमा बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका छन्। ती मध्ये केही घर फर्किए पनि अझै सयौँ परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन्। पीडितले अझै बासस्थानमा फर्कन सक्ने अवस्था नभएकाले सरकारले उचित बासस्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्न थालेका छन्। भजनी नगरपालिका र विभिन्न संघसंस्थाले प्रभावितलाई खाद्यान्न, लत्ताकपडालगायतका अत्यावश्यक राहत वितरण कार्य गरिरहेका स्थानीय जयप्रसाद ढुंगानाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .