समाज


एसईई रिजल्ट प्रकाशित

एसईई रिजल्ट प्रकाशित

नेपालखबर
भदौ १, २०७७ सोमबार १३:४०,

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ।

सोमबार बसेको बोर्डको बैठकले एसईई परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित भएकोे हो।

यसपटक बोर्डले बनाएको मापदण्डका आधारमा सम्बन्धित विद्यालयले नै विद्यार्थीलाई अंक प्रदान गरेका छन्। सोहि मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गरेको हो।

बोर्डका अनुसार ४ लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको हो।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले यो नतिजा कक्षा ११ पढ्नका लागि निकालिएको हुँदा यसलाई ठूलो रुपमा लिन नहुने बताए।

सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको ३ सदस्यीय मूल्यांकन समितिले आन्तरिक मूल्यांकनका आधारमा कक्षा १० का विद्यार्थीको नतिजा तयार गरेको थियो। विद्यालयले पठाएको सोही नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेको हो।

मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड तय गरेको थियो। विद्यालयका प्रधानाध्यापकसहित सम्बन्धित कक्षा शिक्षक र नियुक्तिका आधारमा वरिष्ठ शिक्षक रहने गरी मूल्यांकन समिति गठन गरेर नतिजा तयार गरिएको थियो।

विद्यार्थीको विवरण झुठा ठहरेमा वा गलत विवरण पेस गरेको पाइए मूल्यांकन समिति नै जवाफदेही हुने गरी कार्यविधि बनाईएको थियो ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका पछिल्लो पटकको परीक्षाको अंकलाई विषयगत पूर्णाङ्क अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने कार्यविधिमा उल्लेख व्यवस्था छ।

विद्यार्थीको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनु पर्ने व्यवस्था गरिएको छ।

विद्यालयले यी मापदण्ड पूरा गरेर आफ्नो विद्यालयको कोड एक्सेल फरम्याटमा विद्यार्थीको प्राप्ताङ्क लेखी मूल्याँकन समितिबाट प्रमाणित गराई असार २० भित्र बुझाएका थिए।

नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा यस वर्ष सञ्चालन हुने छैन।

याे पनि: 
एसईई नतिजा आफ्नै विद्यालयमा छ, बोर्डले प्रमाणित मात्रै गर्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad