समाज


प्रदेश ५ मा कोरोना संक्रमण समुदायस्तरमै, जताततै लकडाउन

प्रदेश ५ मा कोरोना संक्रमण समुदायस्तरमै, जताततै लकडाउन

प्रकाश न्यौपाने
साउन ३२, २०७७ आइतबार १३:३१,

समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि प्रदेश ५ मा संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। प्रदेशका तराईका जिल्लाहरुमा पान पसलेदेखि होटल व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह तथा बैंकका कर्मचारीमा समेत कोरोना देखिएको छ। यस्तै, टोलटोलमा समेत भाइरस संक्रमित भेटिएका छन्।

आइतबार मात्रै प्रदेशमा ८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार प्रदेशका विभिन्न जिल्लाहरुमा गरेर ५६ जनामा संक्रमण देखिएको थियाे। प्रदेश ५ को स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आज सबैभन्दा बढी रुपन्देहीमा संक्रमित भेटिएका छन्। नेपाल आयल निगम, बुटवल उपमहानगरपालिका कर्मचारीसहित रुपन्देहीमा आज ३० जनामा भाइरस पुष्टि भएको हो ।

निगमका १० जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि निगमको भैरहवास्थित डिपो सिल गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले बताए।

प्रदेशमा आज थपिएका नयाँ संक्रमितहरुमध्ये प्यूठानका २८ जना छन्। यस्तै, बाँकेका २०, नवलपरासी पश्चिमका ४, कपिलवस्तुका २ र अर्घाखाँचीका एक जना छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म ५ हजार ९० जनालाई संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १५ जनाको मृत्यु भएको छ भने ८ सय ३२ जनाको उपचार जारी छ।

संक्रमित बढेपछि लकडाउन
कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि प्रदेशका विभिन्न जिल्लाहरुमा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ। समुदायस्तरमै कोरोना व्याप्त भएको कपिलवस्तुमा साउन २७ गतेबाट जारी लकडाउन थप गरिएको छ।

कोरोना भाइरस संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भदौ १ गतेदेखि ७ गते राति १२ बजेसम्म लकडाउन बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। जोखिम अझै कायमै रहेकाले लकडाउन थप गरिएको उनले बताए।

पश्चिम नवलपरासीमा आगामी भदौ ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि भदौ ६ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो। यहाँ लक्षणसहित कोरोना संक्रमित भेटिएपछि निषेधाज्ञा जारी गरिएको हो।

यस्तै, कोभिड १९ को जोखिम बढेको भन्दै दाङ प्रशासनले भदौ १ गतेदेखि ८ गतेसम्म रातिको समयमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ। दाङमा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ सात बजेदेखि बिहान पाँच बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

रुपन्देही प्रशासनले जिल्लामा लकडाउन नगरे पनि प्रमुख जिल्ला अधिकारी महादेव पन्थको संयोजकत्वमा क्विक रेसपोन्स टिम गठन गरेको छ। आइतबार बसेको विपत् व्यवस्थापन केन्द्रको बैठकले राहत र उद्धारलाई प्रभावकारी बनाउन टिम गठन गरेको छ। जिल्लाका केही स्थानीय तहहरुले भने लकडाउन गरेका छन्।

बुटवल उपमहानगरपालिकाले तीन दिन अघिबाटै लकडाउन गरेको छ। सिद्धार्थनगर नगरपालिकाले गएरातिबाट लकडाउन गरेको हो। यस्तै सैनामैना नगरपालिकाले भदौ १ गतेदेखि ७ गतेसम्म नगरक्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।

तिलोतत्तमा र बुटवल उपमहानगरले सूचना नै जारी गरेर आर्थिक कारोबार गर्दा क्यास नगर्न अपिल गरेका छन्। यस्तै, बैंक तथा वित्तीय संस्थाहरु नखोल्ने निर्णय गरिसकेका छन्। आज भैरहवा, बुटवल क्षेत्रका बैंक तथा सहकारीहरु कार्यालयहरु पूर्णरुपमा बन्द गरिएको छ।

अत्यावश्यक बाहेक सरकारी कार्यालय पनि बन्द गरिएको छ। सर्वसाधारणलाई आवतजावतमा पनि रोक लगाइएको छ। अत्यावश्यक वस्तु ढुवानी गर्ने साधन, एम्बुलेन्स सञ्चालन गर्न दिइएको छ भने उद्योगधन्दा, कलकारखानालाई भने स्वास्थ्य सावधानी अपनाएर चलाउन दिइएको छ। लकडाउनका कारण सवारी आवतजावत अत्यन्तै न्यून भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad