ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी छ। कार्यालयमा भीड भएको भन्दै अनुमतिपत्र वितरण हाललाई रोकिएको छ।
कार्यालयका अनुसार विभागबाट छापिएर आएका धेरै अनुमतिपत्र वितरण गर्न बाँकी छ। सरकारले चैत ११ गतेदेखिको लकडाउन हटाएपछि कार्यालयले असार र साउनको दोस्रो सातासम्म अनुमतिपत्र वितरण गरेको थियो।
बन्दाबन्दीपछि झण्डै ४० हजार अनुमतिपत्र वितरण गरिएको कार्यालय प्रमुख डम्बरबहादुर कार्कीले जानकारी दिए। कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा र अनुमतिपत्र दिने दुवै काम रोकिएको छ। उनले भने, ‘अहिले हामीले नवीकरण मात्रै गरिरहेका छौं।’
यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा समेत अनुमतिपत्र छपाइ गरिरहेको थियो। गत पुससम्मको अनुमतिपत्र छपाइ भएर आइसकेको उनले जानकारी दिए।
विभागले छपाइ जारी राखेकाले चैत पहिलेका अनुमतिपत्र समेत छपाइ चाँडो भइसक्ने बताइएको छ। वितरण र नयाँ अनुमतिपत्रका लागि परीक्षा भने तत्काल खुल्ला नहुने देखिएको छ।
उनले भने, ‘उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले यी सेवा बन्द गरेका छौं।’
केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो। अहिले उपत्यकामा चार कार्यालयबाट यो सेवा दिने गरिएको छ।
सबैभन्दा बढी यात्रुको भीड भने एकान्तकुनास्थित कार्यालयमै देखिन्छ। रासस

प्रतिक्रिया