पाँच वर्षअघिको भूकम्पले क्षतविक्षत भएको सिन्धुपाल्चोकको लिदी गाउँमा शुक्रबार बिहान पहिरो आउँदा ११ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता छन् ।
भूकम्पले धाँजा फाटेका लिदीलगायत १६ जिल्लाका विभिन्न बस्तीलाई पुनस्र्थापना गर्न तथा ‘बायोइन्जिनियरिङ’ बाट सुरक्षित बनाउन सरकारले ४० करोड बजेट विनियोजन गरेको छ । बजेट गाउँ आएन, तर शुक्रबार बिहान भीषण पहिरो आएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जुगल गाउँपालिका–२ लिदी गाउँ बस्नका लागि उपयुक्त छैन भनेर पाँच वर्षअघि नै सिफारिस गरेको थियो, सरकारले चासो दिएन । त्यति मात्रै होइन, त्यही गाउँका बासिन्दाले ‘हामी जोखिममा छौँ, स्थानान्तरण गरिदिनू’ भनेर स्थानीय प्रशासनदेखि प्रधानमन्त्रीसम्मलाई अघिल्लो वर्ष पनि निवेदन दिएका थिए ।
अविरल वर्षाका कारण त्रसित भएर आपूmहरू रातभर सुत्न नसकेको भन्दै उनीहरूले २३ साउनमा आफ्नो पुरानो माग स्मरण गराएका थिए । तर, त्यसको एक सातामै गाउँ नै पहिरोले सोहोरेर लगेको छ ।
१२ वैशाख ०७२ को भूकम्पपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समिति सदस्य तथा नेपाल सरकारका पूर्वसचिव धु्रवप्रसाद शर्माको संयोजकत्वमा गठित समितिले लिदीलाई बस्नका लागि उपयुक्त गाउँ नभएको भनी प्रमाणित गरेको थियो ।
गाउँका स्थानीयलाई तत्काल स्थानान्तरण गर्न नसकिए सुरक्षाका अन्य उपाय तत्काल अपनाउन समितिले सिफारिस गरेको थियो । लिदीसँगै पहिरोबाट क्षतविक्षत भएका १६ जिल्लाका अन्य जिल्लाका गाउँसहितको पुनर्स्थापना गर्न प्राधिकरणले करिब ४० करोड बजेट पनि विनियोजन गरेको थियो । तर, लिदीमा कुनै काम भएन।
पूर्वसचिव शर्माले लिदी गाउँ खतराको दुई नम्बर सूचीमा सूचीकृत भएको र सुरक्षाका विधि कार्यान्वयन गर्न बजेटसमेत विनियोजन भएको बताए।
‘भूकम्पपछि खतरापूर्ण विभिन्न ठाउँको अध्ययन भए । सिन्धुपाल्चोकको लिदी गाउँको पनि यही क्रममा अध्ययन भयो । हामीले खतराको दुई नम्बरमा यो गाउँलाई राख्यौँ । योसहित अन्य जिल्लाका यस्तै गाउँहरूका लागि ४० करोड बजेट पनि विनियोजन भएको थियो । तर, त्यो खर्च भयो÷भएन रु के काम भयो रु कसले गर्यो रु केही जानकारी भएन,’ उनले भने।

प्रतिक्रिया