नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ। विज्ञहरुले यसलाई थप चुनौतीका रुपमा लिनुपर्ने र सजगता अपनाउनुपर्ने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार ४ बजे गरेको दैनिक अपडेटमा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको जनाएको थियो।
त्यसलगत्तै शुक्रबार साँझ धनुषा जिल्लामा मृत्यु भएका एक ५० वर्षीय पुरुषमा पनि कारोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको हो।
शुक्रबार प्रदेश १ मा १ जना र प्रदेश २ मा ४ जनाको मृत्यु भएको छ।
प्रदेश १ को मोरङका एक जना पुरुषको मृत्यु भएको हो भने सिरहा र धनुषामा एकएक जना पुरुष र बारामा २ जना पुरुष गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश २ मा सबैभन्दा बढी ४४ जनाको ज्यान गएको छ।
प्रदेश १ मा ९ जना र बागमती प्रदेशमा १७ जनाको मृत्यु भएको छ। यस्तै, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
विज्ञहरुले मृत्युदर बढ्न सक्ने जोखिम रहेको भन्दै थप सजगता अपनाउनुपर्ने बताएका छन्।
ह्याम्स अस्पताल, धुम्बाराहीका डा. अनुप सुवेदीले कोरोनाबाट संक्रमितको संख्या बढेसँगै लक्षणसहितको बिरामी देखिएकाले मृत्युदर समेत बढ्ने जोखिम रहेको बताए।
‘कोरोनाबाट संक्रमितमा लक्षण देखिएको छ, कोही गम्भीर बिरामी समेत छन्,’ डा. सुवेदीले नेपालखबरसँग भने, ‘संक्रमित बढेसँगै केही समय मृत्युदर समेत केही बढ्ने देखिन्छ।’
‘हामीले कस्ता कदम चाल्छौं, स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाएर परिचालन गछौं भन्ने मुख्य कुरा हो, समयमै उपचार दिन नसके मृत्युदर बढ्छ,’ सुवेदीले थपे।
जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीले पनि लक्षणसहितको संक्रमित बढ्दै जाँदा मृत्युदर पनि बढ्दै जाने बताए।
‘संक्रमणबाट मृत्यु हुनेको संख्या सय पुग्यो,’ उनले भने, ‘अब यसले थप जोखिम बढाएको छ, मृत्युदर बढाउने देखाएको छ।’
सरकारले कोरोना संक्रमण बढ्न नदिन चैत ११ गतेदेखि लकडाउन गरेको थियो।
लकडाउनकै अवधिमा जेठ ३ गते एक महिलाको कोरोनाबाट पहिलो मृत्यु भएको थियो। सिन्धुपाल्चोककी ती महिला ७ दिनकी सुत्केरी थिइन्।
मन्त्रालयका अनुसार जेठ महिनामा मात्रै कोरोनाबाट नेपालमा १९ जनाको मृत्यु भएको थियो।
असार महिनामा १ गते ३, ३ गते ५ र त्यसपछि असारभर २१ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
‘असार मसान्तसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० थियो,’ नेपालखबरसँग डा. अधिकारीले भने, ‘साउनको ३० दिनमै ६० जनाको मृत्यु भइसकेको छ।’
Shares

प्रतिक्रिया