समाज


सोलु खोलामा आएको बाढी बस्तीमा

सोलु खोलामा आएको बाढी बस्तीमा

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ७:५३,

दूधकुण्ड मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढेको छ।

शुक्रबार बिहानैदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका स्थानीयवासीले बताएका छन्। सोलुदूधकुण्ड नगरपालिका–२ बेनीको खोला किनारमा विसं २०१९ मा निर्माण गरिएको बाँध कटेर नदिनै बस्तीमा प्रवेश गरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए। शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक बढेको छ। मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नुले जोखिम महसुस भएको उनको भनाइ छ।

गए राति ठूलो स्वरमा आवाज आए पनि कुन ताल फुटेको या पहिरो गएको यकिन नभएको दूधकुण्डका लाक्पा लामाले बताए। दूधकुण्ड र अन्य दर्जनौँ साना तालबाट बग्ने खोलाको संगमस्थल बेनीभन्दा माथिबाटै धमिलो खोला आएको उनको भनाइ छ।

‘कुन ताल फुट्यो त्यो त थाहा भएन, राति चाहिँ ठूलो आवाज आएको हो’, लामाले भने, ‘हामीलाई पनि रात बिताउन गाह्रो भयो, अहिले सल्लेरीतर्फ झर्दैछौँ।’ खोलाको मुहान क्षेत्रमा अहिले पानीको सतह क्रमैसँग घटेको भए पनि वास्तविकता भने पत्ता लगाउनुपर्ने उनको भनाइ छ।

खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए। ‘जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ’, प्रहरी निरीक्षक चौहानले भने, ‘खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छौँ।’

बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा पावर हाउस क्षेत्रसमेत जोखिममा परेको बताइएको छ। यस्तै २३.५ मेगावट क्षमताको माथिल्लो सोलु हाइड्रोपावरमा समेत क्षति पुग्न सक्ने अनुमान गरिएको छ। कारणवश खोलामा बाढी आएमा कम्तीमा तीन वटा बस्तीका हजारौँ नागरिक विस्थापित हुनेछन्।

जिल्ला सदरमुकामदेखि ३० कोस उत्तरपूर्व क्षेत्रमा दूधकुण्ड पर्छ। दूधकुण्डको तलतिर विगत १० वर्षदेखि सानो सानो पहिरो खस्ने क्रम जारी रहेकाले कुण्ड जोखिममा रहेको अध्ययनकर्ता हिमाल गिरीको भनाइ छ। समयमै कुण्डको संरक्षण नगरिए जोखिम बढी हुने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad