आज (बुधबार) देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले बिहान भने काठमाडौं उपत्यकासहित बागमती प्रदेश, प्रदेश १ र २ का केही ठाउँमा थोरै मात्रामा घाम देखिएको छ।
‘काठमाडौं उपत्यकाका पनि सबै ठाउँमा घाम देखिएको छैन,’ बुधबार बिहान उनले नेपालखबरसँग भनिन्, ‘अपराह्नपछि उपत्यकासहित देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ।’
महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।
यस्तै राति पनि देशका अधिकांश क्षेत्रमा सामान्य वदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
वर्षा हुने स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) सतर्कता अपनाउन महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्लाई हुन अनुरोध गरेको छ।
मौसमविद् नगरकोटीका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मंगलबार रातिदेखि मनसुन पुनः केही सक्रिय बनेको हो। मंगलबार राति देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म र एक दुई ठाउँमा भारी वर्षासमेत भएकाे उनले जानकारी दिइन्।

प्रतिक्रिया